इटहरी: इटहरीको क्वारेन्टाइनबाट भागेको भनिएका भारतीय व्यक्ति मानसिक रोगी भएको उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् ।
ती व्यक्ति खान नदिएर क्वारेन्टाइनबाट भागेको पनि सत्य नभएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्ट पारेकी छिन् । मंगलबार दिउँसो जनता क्याम्पसको क्वारेन्टाइनबाट एक व्यक्ति भागेको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा आएको थियो । ती व्यक्तिले चाउचाउ खाइरहेको र आफुले खान नपाएको अभिव्यक्ति दिएका थिए । तर, उपमेयर गौतमले भने ती व्यक्ति मानसिक रोगी भएको र उनी क्वारेन्टाइनमा बसेको नभै राख्नको लागि इन्ट्री गर्ने क्रममा नै भागेको उल्लेख गरेकी छिन् ।
उपमेयर गौतमले ती व्यक्तिको र्यापिड टेष्ट पनि गरेको बताएकी छिन् । उक्त टेष्टबाट उनको रिपोर्ट नेगेटिभ आएकोले डराउनुपर्ने अवस्था नभएको र ढुक्कले लकडाउनको पालना गर्न पनि उपमहानगरबासीहरुलाई आग्रह गरेकी छिन् । साथै, साँझ ती व्यक्ति गएको स्थानहरुमा क्लोरिङ छरिएको पनि उनले जानकारी दिएकी छिन् ।
उपमेयर गौतमको भनाई जस्ताको तस्तै:
इटहरीको क्वारेन्टाइनबाट खान नदिएर मान्छे भागेको भन्ने कुरा प्रचारमा आएको रहेछ । दिनभर काममा ब्यस्त थिएँ, अहिले सामाजिक सन्जालको भित्तो भरी देखेर बास्तबिकता लेख्न आफ्नो कर्तव्य ठाने ।
ती भाग्ने मानिस मानसिक रोगी रहेछन् । उनीलाई क्वारेन्टाइनमा राखिसकेको अवस्था होइन । आउदा आउदै पहिला इन्ट्री गर्नुपर्छ, त्यसमा उनको डिटेल्स लिनुपर्छ । त्यो सोधपुछ गर्दागर्दै गेटमा सुरक्षाकर्मीहरु पनि देखे उनी कुदेर भागेछन् । स्थानीयको सहयोगमा सुरक्षाले समाएर ल्याइयो । उता क्वारेन्टाइनमा यो सब भइरहदा म मानसिक रोगीलाई उपचार र राख्ने ठाउँको खोजीमा थिएँ ।
यो घटना सुनेर म क्वारेन्टाइनस्थल पुगे । त्यहा खटिनु भएका हाम्रा स्वास्थकर्मीहरुले मानसिक रोगीले क्वारेन्टाइनको नियम मान्दैनन्, बुझ्दैनन, त्यसैले राख्न सकिँदैन भनिरहनु भएको थियो, र भेरिफाइको लागि सोधपुछ गरिएको थियो । म त्यहाँ पुगेपछी स्थानीय साथीहरु आउनु भो, कुराकानी भयो । उनलाई यहाँ राख्दैनौ भनेपछी ढुक्क भएर जानुभयो ।
स्थानीयबासी क्वारेन्टाइनको सेवामा खटिइरहनु भएका स्वास्थकर्मी तथा सुरक्षाकर्मीको स्वास्थलाई ख्याल गरि अहिले साँझ त्यो एरियामा दमकलले ( क्लोरिङ) औषधीसमेत छिट्ने काम गरियो । अब डराउनुपर्ने, त्रासमा रहन कुनै जरुरी छैन । ढुक्कले लकडाउनको पालना गर्न अनुरोध छ । मान्छे भाग्ने सम्भाबित स्थानहरु भोली थप मजबुत बनाउने छौ ।
उनी अस्तिदेखि आएर खान नदिएर भागेका होइनन् । भोक लागेको थियो होला, लकडाउनमा खाना खान कसैले दिएको थियो या थिएन थाहा भएन । यहाँ आइपुगेको १० मिनेट मात्र भएको थियो । उनका आफन्तसँग सम्पर्क भयो, मानसिक रोगी हो भन्ने थप पुष्टि भयो । उनको इटहरी अस्पतालमा र्यापिड टेस्ट गरियो, रिपोर्ट नेगेटिभ आयो । उपचार गरि त्यहाबाट अन्यत्रै लगियो । अब नडराऔ, ढुक्कले बसौ ।