धरान: कोरोना भइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन सडकबाट उद्दार गरेर लांघाली वन समुहको आवास गृहमा राखिएका व्यक्तिहरुमा पनि कोरोना परीक्षण गरिएको छ ।
आज दिउँसो धरान ८ स्थित लांघाली वन समुहको आवास गृहमा धरान उपमहानगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोली पुगेर र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) गरिएको हो । गृहमा ८० भन्दा बढी व्यक्तिहरुलाई राखिएको भएपनि पहिलो चरणमा १४ जनाको परीक्षण गरिएको थियो । ती सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ९ जना पुरुष र ५ जना महिलाको परीक्षण गरिएको थियो ।
सहरी स्वास्थ्य केन्द्र धरान १५ का प्रमुख सरोज बस्तोलाले सडकमा बस्ने भएकोले व्यक्तिगत सरसफाईमा कमी भएकोले छाला सम्बन्धी रोगहरु बढी भएको बताए । साँझ एक जना महिला थपिएको र उनलाई ज्वरो आएको भनिए पनि थर्मोमिटरले नाप्दा सामान्य नै रहेको उनले बताए । लांघाली आवास गृहमा बैंशाख १ गतेदेखि धरानको सकडहरुबाट उद्दार गरेर मानिसहरु राखिएको हो । उनीहरुलाई खाने, बस्ने, मनोरञ्जनको व्यवस्थापन पनि गरिएको हो ।