काठमाडौं: मन्त्तिपरिषद बैठक सकिएलगत्तै नेकपाको पुर्वमाओवादी खेमाका मन्त्रीहरुको वैठक बसेको छ । मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो गर्न सोमबार अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

नेकपा भित्र आन्तरिक खटपट चलिरहदा सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णय र त्यसलगत्तै पुर्वमाओवादी खेमाका मन्त्रीहरुको बैठकलाई निक्कै अर्थपुर्णरुपमा हेरिएको छ । यो निर्णयले कतै शक्तिशाली पार्टी बनेको नेकपा विभाजनको शिकार त हुने होइन ? भन्ने अडकलबाजीहरु पनि हुनथालिसकेको छ । पुर्व माओवादी खेमाका मन्त्रीहरुको बैठक उर्जा मन्त्री बर्षमान पुनको कार्यकक्षमा भएको थियो । बैठक लगत्तै उर्जामन्त्री पुन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा पुगेको पनि समाचारहरु प्रकाशनमा आएको छ ।

आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको बताइएको छ । पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय भएको छ । यसअघिको व्यवस्थामा पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था छ ।

पछिल्लो समय कोरोना भाइरस नियन्त्रणको सन्दर्भमा नेकपाभित्र चरम ध्रुवीकरण भइरहेको छ । पार्टी अध्यक्ष दाहालले राजनीतिक संयन्त्रको माग गरेका थिए भने नेकपाकै पुर्वएमाले खेमाका मन्त्रीहरुले यसको विरोध गरेका थिए । यस्तै, पिपिई खरीदको बिषयमा भएको प्रकरणमा पनि पुर्वमाओवादी र पुर्वएमाले खेमाबीच चरम द्धन्द छ ।

यसैबीच, नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएर बैठक बस्न लागेको बताइएको छ ।