धरान:  प्रदेश एक सरकारको मन्त्रिपरिषद बैठक केहीबेर अघि मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रदेश राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको सरकारका प्रवक्ता एवं आन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । मन्त्री कार्कीका अनुसार बैठकले सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन नियमावली २०७६ को मस्यौदालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरि, मुख्यमन्त्री युवा उद्यमशिलता विकास कोष सञ्चालन नियमावली २०७६ को मस्यौदालाई पनि स्वीकृत प्रदान गर्ने बैठकले निर्णय गरेको छ भने स्थानीय तहले आर्थिक बर्ष २०७७/०७८ को लागि प्रदेश सरकारसमक्ष माग गर्ने समपुरक अनुदानको प्रस्ताव पेश गर्ने म्याद संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको मन्त्री कार्कीले जानकारी दिए । यसैगरि, विराटनगरमा सञ्चालनमा रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्देशिका २०७७ लाई पनि बैठकले स्वीकृत प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिए ।

hikmat-karki

मन्त्री कार्कीका अनुसार नेपाल कृषि बजार विकास कार्यक्रम २ को अवधारणा पत्रलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ । उनका अनुसार स्वीस विकास नियोगको तर्फबाट नेपाल कृषि बजार विकास कार्यक्रमको दोस्रो चरणको अवधारणाको मस्यौदामा नियोगले नेपाल कृषि बजार विकास कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रस्ताव गरेको छ । तसर्थ नियोगको उक्त प्रस्तावलाई प्रदेश मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गर्दै नेपाल सरकारसमक्ष पठाउने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।