धरान: लकडाउनको कारण काठमाण्डौं उपत्यकामा रोकिएका धरानेहरुलाई ल्याउने कार्य रोकिने भएको छ ।

आज भएको सर्वदलीय बैठकमा स्थानीय नेताहरुले काठमाण्डौंबाट मानिसहरु ल्याउदा जोखिम हुने भन्दै कुरा उठाए पछि धरान उपमहानगरपालिकाले मानिसहरु ल्याउन बन्द गर्ने भएको हो । आज अन्तिम लट काठमाण्डौंबाट गाडी आउने र भोलीबाट मानिसहरु ल्याउन बन्द गरिने मेयर तिलक राईले जानकारी दिए । काठमाण्डौंमा अब विचल्ली हुने विपन्न वर्गका मानिसहरु नभएको भन्ने निष्कर्ष पनि भएको र संक्रमणको जोखिम पनि हुने भएकोले शनिबारदेखि नल्याइने उनको भनाई छ । ‘सर्वदलीय नेताहरुले जोखिम बढ्ने भएकोले रोक्नुपर्छ भन्ने सुझाव आयो, अब आज अन्तिम लट ल्याएर भोलीदेखि रोक्छौं,’मेयर राईले भने ।

ktm-dharan3

धरानको गाडीमा बीच बाटोमा प्रहरीले रोकेर अन्य मानिसहरु पनि चढाइदिने साथै अन्य जिल्लाका मानिसहरु पनि आउन थालेपछि यो कार्य बन्द गर्नुपरेको मेयर राईको भनाई छ । ‘अब विचल्ली पर्ने विपन्न परिवारहरु छैन भन्ने निष्कर्षमा पुग्यौं, काठमाण्डौंमा व्यवस्थापन गर्ने साथीहरुलाई पनि गाह्रो भएकोले अब ल्याउने काम रोक्छौं,’मेयर राईले भने । नेकपाका अध्यक्ष नारायण सुवेदीले बीच बाटोमा प्रहरीले मानिसहरु चढाइदिने र धरानमा आएपछि क्वारेन्टाइनमा पनि नराखिए पछि जोखिम हुने देखेर सबै दलले रोक्न सुझाव दिइएको बताए ।

सोही बैठकमा नेताहरुले धरानको राहत संकलन र वितरण सह्रानीय भएपनि केही वडाहरुमा राहत वितरणको क्रममा पक्ष र विपक्ष भन्ने देखिएको भन्दै उपमहागगरको ध्यानाकर्षण पनि गराएका थिए । राहत वितरणमा त्यस्तो हुन नदिन र राहतको अधिकतम सदुपयोग गराउन दलका नेताहरुले आग्रह गरेका थिए । बैठकमा मेयर राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले कोरोना संक्रमण रोकथामको लागि उपमहानगरपालिकाले गरेको कार्य तथा प्रयासहरुबारे जानकारी गराएका थिए । नेताहरुले उपमहानगरको कार्यको प्रसंशा गरेका थिए ।