धरान: कोरोना भइरस(कोभिड १९) संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के र भोजपुरको हतुवागढी गाउँपालिकामा मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरु पुगेका छन् ।
मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जिवन घिमिरे कोरोना संक्रमित क्षेत्रको वस्तुस्थिति बुझ्न स्थलगत गएका हुन् । मुख्यमन्त्रीसहितको टोली भोजपुरको हतुवागढी गाउँपालिकामा पुगेर अहिले उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केमा पुगेका छन् । हतुवागढीमा साउदीबाट आएका एक युवामा कोरोना पोजेटिभ पुष्टि भएको छ । उनी क्वारेन्टाइनमा नभएको हुनाले गाउँमा अन्यलाई पनि संक्रमण भएको हुनसक्ने आशंका छ ।
यस्तै, उदयपुरको भुल्ेक २८ जना संक्रमित भेटिएको ठाउँ हो । यहाँ अहिले लकडाउन अत्यन्तै कडा गरिएको छ भने गाउँका सयौंको कोरोना परीक्षण पनि गरिएको छ । मुख्यमन्त्रीसहितको टोलीलाई उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गरेपछि त्रियुगाका मेयर वलदेव चौधरीले वस्तुस्थिति एवं समस्याहरुबारे ब्रिफिङ गरेका छन् । ‘मेयरले खाद्य अभाव, स्वास्थ्य समस्या, राहत वितरणलगायत बिषयमा ब्रिफिङ गर्नुभयो,’प्रदेश सांसद विमल कार्कीका स्वकिय सचिव सागर नेपालले भने,‘मेयर साबले कोरोना अस्पताल नै बनाउन माग गर्नुभएको छ ।’
सामाजिक विकास मन्त्री घिमिरेले उपलब्ध भएको स्वास्थ्य सामग्रीको अधिकतम प्रयोग गर्नुपर्ने बताए । साथै, आवश्यकता वमोजिमको सामग्री प्रदेशमा माग भए तत्काल उपलब्ध गराउने उनले बताए । यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले कोरोना अस्पताल बनाउन छलफल भइरहेको बताएका थिए । उनले उपयुक्त ठाउँको खोजी भइरहेको पनि बताएका थिए । ‘सुरक्षाकर्मीहरु कमी भए थप आउछ । सुरक्षाकर्मीलाई चाहिएको सामग्री पनि सरकारले दिन्छ,’मन्त्री कार्कीको भनाई उदृत गर्दै सांसद कार्कीका स्वकिय सचिव नेपालले भने ।
अहिले मुख्यमन्त्री राईले मन्तव्य राख्ने काम भइरहेको छ । भुल्के पछि प्रदेश सरकारको टोली उदयपुरकै कटारी नगरपालिकास्थि बेलस्रोत क्वारेन्टाइन पुगेर स्थलगत वस्तुस्थिति बुझ्नेछ । त्यसपछि, इटहरीस्थित क्वारेन्टाइनमा पनि टोली आउनेछ । समय मिलेमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा पनि मुख्यमन्त्री तथा मन्त्रीहरु पुग्ने कार्यक्रम छ ।