धरान: नेकपा नेता एवं प्रदेश सभा एकका सांसद भीम आचार्यले एकद्वार प्रणाली भनेको वडा कार्यालय भएको जिकिर गरेका छन् ।
नेकपाका संघीय एवं प्रदेश सांसदहरुले एकद्वार प्रणाली विपरीत वडाहरुमा राहत वितरण गरेको भन्दै आलोचना भइरहदा नेता एवं सांसद आचार्यले भने एकद्वार प्रणालीप्रति गलत बुझाई रहेको बताए । आज वडा नं १९ स्थित वडा कार्यालयलाई राहत स्वरुप खाद्यान्न हस्तान्तरण पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता आचार्यले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि वडा कार्यालयमार्फत नै एकद्वार प्रणालीबाट राहत वितरण गरिनुपर्ने बताए । ‘एकद्वार भनेको नगरपालिकाको वडा समितिहरु हो, जसको सिधै पहुँच जनतासँग छ । त्यो निर्वाचित बडी हो, र नगरपालिकाभित्र केन्द्रीत भएको राहत पनि उसले वडा मार्फत एकद्वारमार्फत दिनुपर्छ,’नेकपाका स्थायी कमिटि सदस्य एवं प्रदेश एक इञ्चार्जसमेत रहेका आचार्यले भने ।
नेता आचार्यले एकद्वार प्रणाली हुनुपर्छ भन्ने सरकारकै नीति भएको भन्दै उनले वडा कार्यालयमार्फत केन्द्र र प्रदेश सरकारले पनि नगरपालिकामार्फत वडामा दिएर एकद्वार बनाउनुपर्ने उनको भनाई छ । ‘एकद्वार प्रणाली ठिक छ, सरकारकै नीति हो । तर, बुझाई गलत के हुनु भएन भने कसैले प्रदेशमा एकद्वार हुनुपर्छ भन्ला, कसैले केन्द्रलाई दिने भन्ने होला । कसैको बुझाई नगरपालिकाको केन्द्रमा दिएर गर्ने होला तर त्यस्तो होइन,’नेता आचार्यले भने,‘केन्द्र र प्रदेश सरकारले पनि नगरपालिकामार्फत वडामा दिएर एकद्वार बनाउनुपर्छ । कुनै दाताले पनि नगरपालिकामार्फत दिएपनि वडामार्फत नै जानुपर्छ, एकद्वार बनाएर । हामीले पनि वडामा दिन सक्छौं, त्यो एकद्वार हो ।’
राहत वडा कार्यालयलाई हस्तान्तरण गरेको र राजनीतिक भाषणा नगरेको नेता आचार्यको दाबी छ । उनले कसैलाई भोट पनि नमागेको र गाली पनि नगरेको दाबी गर्दै जनताको मनोवल उठाउन केही थोरै भएपनि सहयोग गरेको जिकिर थियो । ‘जनताको मनोवल उठाउन अलिकति सहयोग होस् भनेर सहयोग गर्दा कसैले राजनीति देख्छ भने त्यो उहाँहरुको गलत कुरा हो । जनताको सेवाबाहेक केही छैन,’उनले थपे ।