विराटनगरः विराटनगरको कोभिड–१९ विशेष अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
विगत १३ दिन अघिदेखि उपचार गर्न विभिन्न स्थानबाट ल्याइएका उनीहरुको स्वास्थ्य अवस्थामा कुनै उतारचढाव नआएको र सन्तोषजनकरुपमा उपचार भइरहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन डाक्टर संगीता मिश्राले जानकारी दिइन् । उनका अनुसार केही विरामीमा सामान्य स्वस्थ्य समस्या देखिए पनि हाल निको भइसकेका छन् । तर, उक्त समस्या कोरोना संक्रमणको कारणले नभएको उनले बताइन् ।
एक दिनमा ४ जना चिकिस्तकसहित नर्स र सहयोगीको चार सिफ्टमा कार्यविभाजन गरेर संक्रमितहरुको उपचार गर्ने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । अस्पतालमा बोलाएको बेला तयार हुने गरी अन्य विशेषज्ञ स्वास्थ्यका चिकित्सकहरु पनि खटाइएको छ । अब संक्रमितको अन्तिम स्वाब परिक्षणपछि घर पठाइने तयारी रहेको पनि डा.मिश्राले बताइन् । ‘हाल कोभिड अस्पतालमा ३१ बाहेक विभिन्न संक्रमणको चरणका विरामी उपचार गर्न मिल्ने भेन्टिलेटरसहितको सेवा तयारी अवस्थामा रहेको छ,’उनले भनिन्,‘कुनै पनि अवस्थामा संक्रमितको संख्या थपिए सोहि अनुसार उपचार गर्ने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ ।’
प्रदेश एक सरकारले निर्माण गरेको एक सय वेडको कोरोना विशेष उपचार अस्पतालमा एक सय वेड क्षमताको रहेको छ । यस पछि धरानको विपी प्रतिष्ठानमा पुनः एक सय वेड क्षमताको कोरोना अस्पताल निर्माण सम्पन्न भइसकेको छ ।