धरान: पछिल्लो ५ महिनामा झापासहित ६ जिल्लामा दादुराका विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेटिएका मध्ये २ जना बालबालिकाको मृत्यु पनि भएको छ ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.झलक बस्नेतले पुष महिनादेखि हालसम्म कुल १ सय ८५ दादुराका विरामीहरु भेटिएको जानकारी दिए । उनका अनुसार ती विरामीहरु झापा, सर्लाही, धादिङ, ललितपुर, चितवन र गोर्खामा भेटिएका हुन् । ती मध्ये धादिङमा २ जना बालबालिकाको मृत्यु भएको पनि उनले जानकारी दिए । ‘शंकास्पद केसलाई प्रयोगशालामा परीक्षणबाट र चिकित्सकहरुले पनि दादुरा हो भन्ने पुष्टि भएको छ । ४ महिनादेखि ४० बर्षसम्मका खोप नपाएकामा दादुरा संक्रमण देखिएको हो,’डा.बस्नेतले भने,‘धादिङमा २ जना बालबालिकाको चैतमा मृत्यु भएको छ ।’
मन्त्रालयका अनुसार धेरै संख्यामा र पटक पटक दादुरा प्रकोप देखिएको धादिङमामा हिजो बैशाख १७ गतेदेखि २३ गतेसम्मको लागि खोप अभियान थालिएको पनि जनाएको छ । त्यहाँ जन्मेको ६ महिनादेखि १५ बर्षसम्मका २० हजार संख्यालाई खोप दिन स्वास्थ्यकर्मी तथा चिकित्सकहरु खटिएको डा.बस्नेतले जानकारी दिए । संक्रमण भएका विरामीहरुको अनुगमन, परीक्षण र उपचार गर्ने तथा सिरियस भेटिए उपचार हुने अस्पतालमा रिफर पनि गर्ने गरिएको उनले बताए । ‘तीन जनाको कान्ति वाल अस्पतालमा उपचार भएर घर गइसकेका छन्,’डा.बस्नेतले भने ।