काठमाडौं: आज १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

यसैबीच, धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले श्रमिक दिवसको शुभकामना दिदै असंगठित क्षेत्रमा कार्यरत धरान क्षेत्रका मजदूरहरूलाई सुचिकरण गरि परिचय पत्रसहित सामाजिक सुरक्षामा आवद्ध गराउने साथै आजकै दिनबाट समान कामको समान ज्याला अनिवार्य लागुु गर्ने तयारीको साथ यो आर्थिक वर्षमा वजेटको व्यवस्था गरि काम भई रहेपनि कोरोनाले प्रभावित भएको बताएकी छिन् । 'यो विषम परिस्थितिमा कोही पनि मजदूर भोकै वस्नु नपरोस । राहत र सहयोगका लागि हामी सधै तयार छौ,'उनले श्रमिक दिवसको शुभकामना दिदै फेसबुकमा लेखेकी छिन्,'यसको संयोजन र सहजीकरणका लागि सबै सरोकारवाला मजदूर संघ, संगठनलाई अनुरोध समेत गर्दछु ।'