विराटनगर: विराटनगरस्थित पशुपंक्षी रोग अन्बेषण प्रयोगशालाबाट पनि कोरोना भाईरस(कोभिड १९) को आशंका गरिएका व्यक्तिको स्वाब परीक्षण कार्य शुरु भएको छ ।
योसँगै प्रदेश १ मा दैनिक तीन सय बढीको स्वाब परीक्षण हुने क्षमता भएको छ । अन्बेषण प्रयोगशालाको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, सचिव रविलाल पन्थले निरीक्षणसमेत गरेका थिए । मन्त्री घिमिरेका अनुसार उक्त ल्याबबाट हाल २० वटासम्म नमुना परीक्षण गर्न सकिनेछ । धरान र विराटनगरस्थित प्रादेशिक प्रयोगशालाको क्षमता विस्तार गरेर दैनिक ३ सय बढीको परीक्षण भइरहेको पनि उनले बताए । ‘धरानमा १ सय बढी र विराटनगरमा २ सयसम्मको परीक्षण क्षमता भएको छ,’मन्त्री घिमिरेले भने ।
प्रदेश एकका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार यो ल्याबबाट यसअघि वर्डफ्ल्यु, स्वाइन फ्ल्यु, एन्थ्रेक्सको परीक्षण हुदै आएको थियो । प्रदेश सरकारले पिसिआर मेशिन र किट उपलब्ध गराएपछि पशुपंक्षी रोग अन्बेषण प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको हो । यो प्रयोगशालामा कोरोना पोजेटिभ रिपोर्ट आएमा क्रस चेक वा भेरिफिकेशन कोशी अस्पतालको ल्याबमा गरिने पनि यादवले बताए । यसअघि, संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुर्वमा कोरोना पोजेटिभ आएको केसको क्रस चेक वा भेरिफिकेशन वीपी प्रतिष्ठानको ल्याबमा गर्ने निर्णय गरेको थियो ।
कोभिड अस्पताललाई आयुर्वेद औषधी हस्तान्तरण
किोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधी व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधी व्यवसायी संघले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो ।
व्यवसायी संघले ५ सय ग्रामको च्यवनप्रास ६२ ओटा, १ सय ग्रामको अश्वगन्धा चुर्ण ६२ ओटा, ६० क्याप गिलोय प्लस ३१ ओटा र १ सय ग्रामको तुलसी चिया ३१ प्याकेज मन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयुर्वेद औषधी ४४ हजार ६ सय ४० रुपैयाँको रहेको संघका अध्यक्ष जगराज गिरीले जानकारी दिए । आयुर्वेद औषधि ग्रहण गर्दै मन्त्री घिमिरेले उपचाररत विरामीका लागि प्रयोगमा ल्याउन कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । संक्रमितको उपचारमा खटिएका चिकित्सकसँग समन्वय गरेर औषधि प्रयोगमा ल्याउन उनले निर्देशन दिएका हुन् ।