धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको करिब सात महिना अघिदेखि बिग्रिएर थन्किएको सिटिस्क्यान मेशिन मर्मत भएर पुनः सुचारु भएको छ ।

प्रतिष्ठानको रेडियोलोजी विभाग मातहतको सिटिस्क्यान मेशिन गत कार्तिक महिनादेखि बिग्रिएर थन्किएको थियो । यो मुख्य सिटि सञ्चालनमा नआउदा विरामीहरुलाई धेरै समस्या भइरहेको थियो । प्रतिष्ठानमा मुख्य सिटि मेशिनसँगै इर्मजेन्सीमा पनि सिटि मेशिन छ । तर, केही समयअघि त्यो मेशिन पनि बिग्रिएर नयाँ ल्याउने प्रक्रियामा थियो । जसले गर्दा एक समय वीपीमा दुवै सिटि मेशिन काम नलाग्ने अवस्थामा थियो । इर्मजेन्सी विभागको सिटि मेशिन निजी कम्पनीसँगको साझेदारीमा नयाँ आएपछि मात्र विरामीहरुले केही राहत पाएका थिए ।

इर्मजेन्सीको मात्र सिटि मेशिन चल्दा वार्डका विरामी, ओपिडीका विरामी र इर्मजेन्सीमा आएका विरामीहरुको पनि सिटिस्क्यान गर्न अत्यधिक चाप हुन्थ्यो । जसले गर्दा विरामीहरुले पालो पाउनै मुश्किल थियो । मुख्य सिटि मर्मत भएपछि धेरै सहज भएको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । ‘इर्मजेन्सीको सिटिमा अब लाइन कम हुन्छ, र इर्मजेन्सी केसलाई धेरै सहज हुन्छ,’उनले भने ।

रेडियोलोजी विभागका टेक्निकल इञ्चार्ज एवं डेमोस्ट्रेटर मुशेक झाका अनुसार एक साता अघि सिटि मेशिन मर्मत भएको थियो । एक सातासम्म ट्रायल गर्दा कुनै समस्या नदेखिएको उनले बताए । ‘एक साताअघि नै बनेको हो, एक हप्ता ट्रायल गर्दा राम्रो भयो,’उनले भने । उनका अनुसार अहिले वार्डमा रहेका विरामी र हटलाइनमार्फत डाक्टरसँग सम्पर्क गरेर ओपिडीका विरामीहरु पनि सिटि गर्न आइरहेका छन् । उनका अनुसार दैनिक ८ देखि १० जनाको सिटिस्क्यान भइरहेको छ ।