धरान: निक्कै चासोका साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक शुरु भइसकेको छ । यो बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउने अवस्था बनाउला वा नबनाउला केही समयपछि खुल्ने नै छ, तर अहिले सर्वत्र अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुर्सी र आसनको चर्चा छ ।
आजको बैठकमा अध्यक्षद्वय ओली र दाहालको कुर्सी एकै लहरमा राखिएको छ । त्यसैले यो बैठकको कुर्सी र आसनको चर्चा भएको हो । यसअघि बुधबार भएको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालको कुर्सी आजको जस्तो ओलीसँगैको लहरमा थिएन । दाहाल कार्यकारी अध्यक्ष हुन् । तर, बुधबार उनलाई अन्य सचिवालय सदस्यसँगैको लहरमा राखिएको थियो । प्रधानमन्त्री ओलीले पदबाट राजिनामा गराउने चलखेल भएपछि असन्तुष्टी दाहालप्रति त्यसरी प्रकट गरेकोरुपमा हेरिएको थियो । त्यसअघिका बैठकमा भने ओली र दाहालको कुर्सी सँगै हुन्थ्यो ।
आजको बैठकमा भने ओली र दाहालको कुर्सी सँगै राखिए पछि त्यसले दुवैमा सहमति भएको हुनसक्ने संकेतकोरुपमा पनि लिइएको छ । बैठक अघि अध्यक्षद्वयबीच छुट्टै भेटवार्ता पनि भएको थियो । दाहाल र वरिष्ठ नेता माधव नेपालबीचको गठबन्धनले सचिवालयमा अल्पमतमा परेका ओलीमाथि स्थायी समिति बैठक डाक्न, प्रधानमन्त्री पदबाट राजिनामा गर्न चर्को दबाब छ । बुधबारको बैठकमा उनले वामदेव गौतमलाई कोरोना समस्या हल भएपछि प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेर पार्टीभित्र हलचल ल्याएका थिए ।
आजको बैठकअघि नै समिकरण फेरिएर सचिवालयमा पुनः ओलीको बहुमत आइसकेको बताइएको छ । नौं सदस्यीय सचिवालयमा अध्यक्ष ओलीको साथमा महासचिव विष्णु पौडेल, इश्वर पोख्रेल, वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा वादल रहेको खबरहरु सार्वजनिक भएको छ । जसले गर्दा तत्कालको लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको संकट टरेको विश्लेषणहरु भइरहेको छ । यहीकारण पनि अध्यक्ष दाहाल र ओलीबीचमा पनि केही सहमति भएको अनुमान गरिएको छ ।