धरान : लकडाउनको कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न दिइएको छैन । पास विना सवारीसाधन चलाउन पाइदैन ।

यस्तो बेला विरामी भइदिए वा अस्पताल विरामी लिएर जानुपरे निक्कै सास्ती हुन्छ । भनेको बेलामा एम्बुलेन्स पनि पाइदैन । जनताको यही समस्या बुझेर नै धरानको वडा नं ७ ले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ । वडाको यो सेवा यति प्रभावकारी बन्यो कि आफ्नो वडामा मात्र होइन, धरानको विभिन्न वडामा पनि सेवा उपलब्ध गराएको छ । त्यति मात्र होइन, केराबारी गाउँपालिकासम्म पनि वडा ७ को यो निःशुल्क यातायात सेवाले विरामी लाभान्वित भइसकेका छन् ।

आफ्ना वडामा जनतालाई अस्पताल एवं स्वास्थ्य सेवासम्म पुर्याउने, ल्याउने सेवाको लागि निःशुल्क यातायात व्यवस्था गरेको वडाअध्यक्ष जीवन सुवेदीले बताए । उनका अनुसार टेम्पोको व्यवस्था गरेर यो सेवा चैत २२ गतेदेखि नै शुरुवात भएको हो । आज(आइतबार) मध्याह्नसम्म १ सय १६ जनाले निःशुल्क यातायात सेवा लिइसकेका छन् । टेम्पोले अहिले एम्बुलेन्सकै काम गरिरहेकोछ ।

वडा नं ७ का बासिन्दाहरुको लागि शुरुवात गरिएको यो सेवा यही वडामा मात्र सिमित रहन सकेन । छिमेकी वडाहरु १५, ८, ३ सहित केराबारीसम्म पनि सेवा उपलब्ध गराइसकेको छ । ‘गाडीहरु चल्न नपाएपछि हामीले जनताको सेवाको लागि यो व्यवस्था गरेका छौं, यो थाह पाएपछि अन्य वडाबाट पनि आपत परेको बेला बोलाउछन्,’अध्यक्ष सुवेदीले भने,‘अहिलेसम्म ११६ जनाले सेवा लिइसकेका छन् ।’

wada-7-heal

वडाले लकडाउन अवधिभरको लागि दैनिक ७ सय रुपैया दिएर यो व्यवस्था गरेको हो । टेम्पोमा लाग्ने तेल खर्च जनसहभागिताबाट जुटिरहेको वडा कार्यालयले जनाएको छ । वडाबासीहरुले योजनालाई मन पराएपछि सेवाको भावनाले सहयोग गरिरहेको र टेम्पोको तेल खर्च त्यसैबाट व्यवस्थापन भइरहेको वडा सदस्य ठाकुर बहादुर कार्कीले जानकारी दिए ।

वडा ७ को यस्ता छन्, अन्य स्वास्थ्यका कार्यक्रमहरु

वडा नं ७ ले स्वास्थ्य क्षेत्रमा अन्य उल्लेखनीय कार्यहरु पनि गरिरहेको छ । २०७४ सालको निर्वाचन लगत्तै सुरक्षित मातृत्व पोषण भत्ता र नवजात बैंक खाता वडाले दिन थालेको थियो । वडाअध्यक्ष सुवेदीका अनुसार नेपालकै पहिलो महिला उपसभामुख लिला श्रेष्ठ सुब्बाको स्मृतिमा सुरक्षित मातृत्व पोषण भत्ता सुत्केरी महिलालाई दिने गरिएको छ । स्वर्गीय पुर्वउपसभामुख सुब्बा वडा ७ कै बासिन्दा थिइन् । सुत्केरी भएको ४ महिना पछि एक पटकलाई ३ हजार रुपैया वडा कार्यालयले उपलब्ध गराउछ ।

यस्तै, नवजात बैंक खाता कार्यक्रम पनि वडाको छ । यो कार्यक्रम भनेको बच्चा जन्मिए पछि ३५ दिनभित्र जन्म दर्ता गराएमा वडा कार्यालयले २ हजार रुपैयाको बैंक खाता खोलिदिन्छ । वडा ७ ले ग्लोबल आइएमई बैंकमा खाता खोलिदिने गरेको छ । यस्तै, पछिल्लो समय मृगौला र क्यान्सर पीडित वडाबासीलाई राज्यबाट पाउने उपचार सुविधाको लागि सिफारिश लिन आउदा वडा कार्यालयले यातायात खर्च वापत एक पटकलाई ३ हजार रुपैया पनि उपलब्ध गराउने गरेको छ ।

वडा सदस्य ठाकुरबहादुर कार्कीले जनताकै सेवाको लागि सरकार चल्नुपर्ने भएकोले यस्तो व्यवस्था गरिएको बताउँछन् । ‘जनताकै लागि सरकार भएकोले हाम्रो सरकार छ, सेवा दिन्छ भन्ने महशुस गराउनुपर्छ भनेर यी योजनाहरु अगाडि बढाइरहेका छौं,’उनले भने ।