धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेन्टलको उपचारको लागि अलग्गै फोनमार्फत परामर्श दिने हटलाइनमार्फत उपचार सेवा दिइरहेको छ ।

अन्तराष्ट्रिय निर्देशिका अनुसार डेण्टल उपचार कोभिड १९ संक्रमणको सन्दर्भमा अत्यन्तै उच्च जोखिमयुक्त भएकोले विरामीलाई फोन मार्फत परामर्श दिन हटलाइन सेवा सञ्चालनमा ल्याएको प्रतिष्ठानका सहप्रवक्ता एवं एशोसिएट प्रोफेसर डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार डेण्टल उपचारका क्रममा मुखबाट (Aerosol) बायु उत्पादन हुने र यसले विरामी, स्वास्थ्यकर्मीलाई पनि संक्रमणको जोखिम उच्च गराउने भएकोले तत्कालको अवस्थामा विरामीलाई फोन मार्फत परामर्श दिने हटलाईन सेवा सुचारु गरिएको हो । 

प्रतिष्ठानले सार्वजनिक गरेको डेन्टलको हटलाइन सेवा 9805316730, 9802331179 रहेको छ । विरामीको अवस्था पीडादायक भएमा आवश्यक उपचार गर्न अपोइन्टमेन्ट पनि दिएर डेण्टल कलेजमा बोलाएर उपचार गरिने डा.ऐरले जानकारी दिए । यसको लागि डेण्टल कलेजका सम्पुर्ण फ्याल्टी र रेजिडेण्ट चिकित्सकहरूको डिउटी रोटेसन गरी मिलाइएको पनि उनले बताए । हटलाइनमार्फत परामर्श गरेपछि विरामीको अवस्था हेरेर बोलाइरहेको र दैनिक ३० वटा जति दाँतको अत्यावश्यक उपचार भइरहेको छ । 'इर्मजेन्सी डेन्टल केयर भइरहेको छ,'डा.ऐरले भने । 

ईमर्जेन्सी बिभागमा पनि बिरामीको जाँच गर्न अन–कल डिउटी लगाइएको छ । यसका साथै डेण्टलका चिकित्सकहरू प्रतिष्ठानको कोभिड १९ को हेल्प डेस्कमा पनि डिउटी गर्छन् भने कोभिड १९ र्यापिड रेस्पोन्स टिममा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले अत्यावश्यक उपचार बाहेक तत्काल लकडाउनको अवस्थामा दाँत सम्बन्धी सबै कस्मेटीक उपचार स्थगित गरेको पनि जनाएको छ ।