झापा: नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भारतीय पक्षबाट आक्रमणको प्रयास भएको घटनाप्रति भारतीय पक्षले माफी मागेको छ ।

झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा सय भन्दा बढीको संख्यामा भारतीयहरु घरेलु हतियारसहित १३१ नं सीमास्तम्भ नजिककै रहेको सुरक्षा चौकीमा आक्रमणको प्रयास गरेका थिए । भारतीयहरुलाई भगाउनको लागि नेपाली सुरक्षाकर्मीहरुले दुई राउण्ड हवाईफायरसमेत गरेका थिए । उक्त घटनाबारे मङ्गलबार दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल भएको थियो । जसमा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गरेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकालिएको थियो । यस्तै, कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको पनि उनले बताए ।