विराटनगरः विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज कोभिड विशेष अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक विकास मन्त्रीको उपस्थितिमा उनीहरुलाई रानीस्थित एक मस्जिदमा बनाइएको क्वारेन्टाइनमा लगेर राखिएको छ । लकडाउन खुला नभएसम्म उनीहरुलाई उक्त मस्जिदमा विशेष निगारानीमा राखिने मन्त्री घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेका अनुसार विरगञ्जमा जस्तै पुनः संक्रमित नहुनका लागि स्थानीय जनप्रनिधि र प्रशासनले उच्च निगरानीमा राख्नेछ । मन्त्री घिमिरेले अस्पताल प्रशासन, चिकित्सक र कर्मचारीको दक्षता र जिम्मेवारीपूर्वक काम गर्दा सफलता हात लागेको भन्दै विशेष धन्यवाद दिए । थप जोखिम आउनसक्ने तर्फ ध्यान दिन र आगामी दिनमा होसियारीपूर्वक काम गर्द आग्रहसमेत गरे ।
विराटनगरको कोभिड १९ अस्पतालमा बैशाख ५ र ६गते उदयपुरबाट २८ संक्रमितलाई ल्याइएको थियो । ती मध्ये ६ भारतीयलाई पछिलो ४८ घण्टामा दोहोर्याएर स्वाव परीक्षण गर्दा कोभिड १९ को संक्रमण नदेखिएपछि डिस्चार्र्ज गरिएको हो । चिकित्सक दीपक सिग्देलका अनुसार उनीहरुलाई विशेष निगरानीपूर्वक नै उपचार गरिएको थियो । अन्य स्थानबाट समेत संक्रमित ल्याइएको हुँदा एक अर्कामा थप जोखिम नहोस् भनेर अस्पताल प्रशासनले चनाखोढंगले निगरानीमा राखि उपचार गरेको सिग्देलको भनाई छ ।
आज डिस्चार्ज भएका व्यक्तिहरुले सरकारले गरेको व्यवस्थाको खुलेर प्रशंसा गरे । उनीहरुले आफुुलाई अर्को देशको नागरिकको जस्तो व्यवहार नगरेको भन्दै खुसि व्यक्त गरे । डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था रहेकोले उनीहरुलाई मस्जिदमै राखिने तयारी भएको हो । विराटनगरको कोरोना अस्पतालमा ३१ जना स्रक्रमित उपचाररत थिए । ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन् भने २ झापा र १ भोजपुरका संक्रमित छन् ।