धरान : लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।
चैत ११ गतेदेखि सुरु लकडाउनको समय भोलि सकिदै थियोे । हिजो उच्चस्तरीय समितिले लकडाउन खोल्ने अवस्था नरहेको भन्दै बढाउन सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये २२ जना निको भएका छन् । कुल संक्रमित मध्ये प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।
नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द
सरकारले सिमा नाका साथै अन्तर्राष्ट्रीय र आन्तरिक उडानमा जेठ १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । छिमेकी मुलुक भारतमा पनि संक्रमणको सख्या व्यापकरुपमा बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । यसैगरि, अन्तराष्ट्रिय र आन्तरिक उडान पनि जेठ १८ गतेसम्म नै प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको छ । यसअघि जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय सरकारको थियो । विश्वव्यापीरुपमा नै कोरोना संक्रमणको जोखिम न्युनिकरण नभएपछि प्रतिबन्धलाई बढाएर जेठ १८ सम्म पुर्याएको छ ।