विराटगर: विराटनगरको कोसी अस्पताल मातहतको कोभिड १९ विशेष उपचार केन्द्रको आइसोलेसनमा उपचार गराइ रहेका उदयपुरको भुल्केसहितका थप ८ व्यक्ति कोरोनामुक्त भइ आज डिस्चार्ज हुँदैछन् ।

संक्रमित व्यक्तिको लगातार तीन पटक स्वाब परीक्षणगर्दा नतिजा नेगेटिभ देखिएको थियो । यसअघि ६ भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने उनिहरुलाई लकडाउन नखुल्दासम्म बस्ने सुक्षित आवासको व्यवस्था प्रदेश सरकारले गरिसकेको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएको मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको बताए । उनले बाँकी ७ जनाको रिपोर्ट पोजिटिभ नै आएको जानकारी दिएका छन् । नेगिटिभ रिपोर्ट आउनेमा १ भारतीय, विराटनगर १७ का २ र १ महिलासहित ५ जना भुल्केका हुन ।

संक्रमित व्यक्तिहरुलाई वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि विराटनगरको कोरोना उपचार केन्द्रमा ल्याइएको थियो । कोशी अस्पतालका चिकित्सक डा. दीपक सिग्देलले उपचार केन्द्रमा आएदेखि सबै व्यक्ति सामान्य अवस्था रहेको र उनिहरुलाई अतिरिक्त रोगको उपचार नगरिएको जानकारी दिए । उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासी सहित १२ जनामा बैसाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको २ जना उपचार केन्द्रमा ल्याइएको थियो ।

कोशीबाट ८ जना डिस्चार्ज भए पछि प्रदेश १ मा १७ जना मात्र रहने छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो । प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको छ ।