धरान: कोरोना संक्रमणको सबैभन्दा बढी प्रभावित देखिएको प्रदेशका जिल्लाहरुमा ५ हजार भन्दा बढी पिसिआर विधिको लागि नमुना संकलन गर्न इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको संयुक्त टोली खटिएको छ ।
उक्त टोलीले ५ हजार ३ सय २० भन्दा बढी नमुना संकलन गर्ने लक्ष्य लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा डा.देवकोटाले प्रदेश १ को उदयपुर, प्रदेश २ को रौतहट, पर्सा र बारा तथा प्रदेश ५ का विभिन्न जिल्लामा पिसिआर विधिको लागि स्वाब संकलनको कार्य भइरहेको जानकारी दिए । ‘हिजो शुक्रबारदेखि इपिडियोमोलोजी र सेनाको टोली खटिएको छ, ४ सयको परीक्षण भइसकेको छ र अबको ३ दिनमा नमुना संकलन गर्ने लक्ष्य राखिएको छ,’उनले भने ।
सरकारसँग हाल ५० हजार हाराहारीमा किट उपलब्ध भएको जानकारी दिदै प्रवक्ता डा.देवकोटाले पिसिआर विधिको परीक्षणको दायरा बढाउदै लगिने पनि बताए । संक्रमण बढी देखिएको जिल्ला र समग्र देशभरि नै परीक्षणको दायरा बढ्ने उनको भनाई छ । नेपालमा हालसम्म १ सय ९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । ती मध्ये ३१ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने हाल ७८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको पनि डा.देवकोटाले जानकारी दिए ।
कुल कोरोना संक्रमितमध्ये ७८ जना पुरुष हुन् भने ३१ जना महिला हुन् । ती मध्ये प्रदेश १ मा ३४ जना, प्रदेश २ मा ३१ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा ३० जना र सुदुरपश्चिम प्रदेशमा ५ जना भेटिएका हुन् । अहिलेसम्म कर्णाली प्रदेशमा मात्र कोही पनि संक्रमित भेटिएका छैनन् । हाल विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २० जना, नेपालगञ्जमा २४ जना, वीरगञ्जमा २७ जना, रुपन्देहीमा ६ जना र भरतपुरमा १ जना गरि ७८ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा.देवकोटाले जानकारी दिए ।