धरान: कोरोना भाइरस(कोभिड १९) उपचार तथा शंकास्पद व्यक्तिहरुलाई व्यवस्थापन गर्ने बिषयमा केन्द्रीत भएर बुधबार धरानमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको उपस्थितिमा सरोकारवाला निकायहरुबीच बैठक सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाको पहलमा आयोजित बैठकमा मन्त्री कार्कीसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सुनसरीका प्रजिअ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकलगायत सरोकारवाला निकाय सहभागी थियो । बैठकमा सुनसरी जिल्लामा मात्र नभै, प्रदेशमै संक्रमण बढ्दा कुन क्षेत्रले के कस्तो भुमिका खेल्ने भनेर राम्रो छलफल भएको मन्त्री कार्कीले जानकारी दिए । उनले प्रदेश सरकार अभिभावकको भुमिकामा रहने र स्थानीय सरकारहरुको स्रोत साधन अभाव भए हरतरहले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘स्थानीय तहले राहत पनि बाडिसकेको छ, क्वारेन्टाइन व्यवस्थापन गरेका छन् । सिमित साधन स्रोत सकिएको छ, अब स्थानीय तहले नसक्ने भयो, र आर्थिक सहायता गर्नुपर्ने, जनशक्ति सहयोग गर्नुपर्ने भयो भने सबै कुरामा प्रदेश सरकारले नेतृत्व गर्छ भन्न पनि म आएको थिएँ,’प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने ।

meeting-security

प्रदेश सरकारले लकडाउनमा स्थानीय तहहरुलाई राहत वितरणको लागि पठाएको राहत केही नगर तथा गाउँपालिकालाई पर्याप्त भएपनि धरान, इटहरी, विराटनगरलगायतको लागि पर्याप्त नभएकोबारे सरकार जानकार रहेको मन्त्री कार्कीको भनाई थियो । उनले बजेट रकमान्तर गरेर खर्च गर्ने अधिकार स्थानीय सरकारलाई भएको पनि खुलाए । तर, बजेट नै सकिएको अवस्थामा जनता भोकै बस्नु नपर्ने मन्त्री कार्कीको भनाई थियो ।

आफ्नो बजेट सकिए स्थानीय सरकारले प्रदेश सरकारलाई अनुरोध गरेपछि आर्थिक सहायता र अन्न पठाएर जनतालाई खुवाउने भएकोले जनता ढुक्क रहन मन्त्री कार्कीले आग्रह गरे । ‘रकमान्तर गरेर खर्च गर्ने अधिकार छ, तर बजेट सकियो भने जनता भोकै मर्छ त ? नगरपालिका भाग्छ त ? भाग्दैन,’उनले भने,‘प्रदेश सरकारलाई अनुराध गर्छ, हामीसँग भएको कोष, अन्न पठाएर पनि खुवाउछौं । हामीले नसके संघीय सरकारले गर्छ । स्थानीय र संघीय सरकारबीच साँघुको काम प्रदेश सरकारले गर्छ । प्रदेश सरकार छ, जनता ढुक्क हुनुस्, खानाले, उपचार नपाएर मर्न हुन्न ।’

व्यवहारिक कठिनाईहरु समाधान गर्न बैठक: धरानका मेयर

धरानका मेयर तिलक राईले वीपी प्रतिष्ठान, स्थानीय प्रहरी प्रशासन र प्रदेश सरकारसँग समन्वय गरेर कोभिड १९ संक्रमण व्यवस्थापन गर्न काम गरिरहेको बताए । क्वारेन्टाइन, उपचार र राहतमा काम गरिरहदा केही व्यवहारिक कठिनाईहरु आएकोले समाधान गर्न पनि बैठक राखिएको उनको भनाई थियो । ‘समन्वय गरेर सैनिक आवासियसँग क्वारेन्टाइन राखेका छौ, वीपीमा आएका सम्भावित संक्रमण भएका व्यक्तिहरुलाई क्वारेन्टाइन पठाउदा सैनिक अस्पतालमा पठाउदा व्यवहारिक कठिनाइहरु थिए । ती कुराहरुलाई समिक्षा गर्ने र सरलीकरण गर्ने सन्दर्भमा बैठक भएको हो,’उनले भने,‘उपचारदेखि क्वारेन्टाइनसम्म र क्वारेटाइन र होल्डिङ समयको बीचमा समस्या देखिएको थियो । र, भारतबाट आउनसक्ने आफन्त, नगरबासीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल भयो ।’

वीपी प्रतिष्ठान उपचारको लागि भएकोले त्यहाँ लक्षण देखिएको र उपचार गर्नुपर्नेलाई मात्र आइसोलेसनमा राखेर उपचार गर्ने समझदारी बैठकमा भएको मेयर राईले बताए । लक्षण नभएको सामान्य अवस्थाका तर ट्राभल हिष्ट्री भएकोलाई मात्र सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनमा लगेर राखिनेछ । तर विदेशीको हकमा भने सिडिओले समन्वय गरेर अन्यत्र पठाउने समझदारी भएको मेयर राईले बताए ।