विराटनगर: प्रदेश नं १ मा कोरोना भाइरसको शंकास्पद व्यक्तिलाई हटस्पट र कन्ट्याक्ट ट्रेसिङको आधारमा मात्र परीक्षण हुदै आएकोमा अब पुलिङ विधि पनि अपनाइने भएको छ ।

हटस्पट, कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न सामाजिक विकास मन्त्रालयले ७ सदस्यीय विज्ञ टोलीसमेत गठन गरेको छ । मन्त्रालयमा बिहिबार भएको छलफलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी माइक्रोवायोलोजी विभाग प्रमुख प्रा.डा.वसुधा खनालको संयोजकत्वमा ७ सदस्यीय विज्ञ टिम गठन गरेको हो ।

यो समिति सदस्यमा डा.सुरेश मेहता, जयवेन्द्र यादव, डा.कमाना शर्मा, डा.सन्तोष काफ्ले, केशव राई र सदस्य सचिवमा डा. नारायण भट्टराई रहेको मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ । समितिलाई तीन दिन भित्रमा प्रोटोकल तयार गर्ने जिम्मेवारी दिईएको छ ।

बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरले अब पुलिङ विधि पनि अपनाउनु पर्ने अवाश्यक भएको धारणा व्यक्त गरेका थिए । सामाजिक विकास मन्त्रालयले यसअघि कन्ट्याक्ट ट्रेसिङ, टेष्टिङ र ट्रिटमेन्टका लागि निर्देशिका निर्माण गरेर सोही अनुसार काम भइरहेको छ । मन्त्री घिमिरेले प्रदेशमा १० हजार बढीको कोरोना परीक्षणको तयारी भइरहेको पनि बताए । उनका अनुसार प्रदेशको १४ वटै जिल्लाका परीक्षणको दायरा बढाइनेछ ।

छिमेकी मुलुक भारतले रेलसेवा सञ्चालन गरेलगत्तै भारतमा रहेका १० हजार बढी नेपाली प्रदेशमा प्रवेश गर्ने देखिएकोले परीक्षण बढाउनुपर्ने देखिएको मन्त्री घिमिरको भनाई छ । तीर्थयात्रा र श्रममा गएकाहरु रेल सञ्चालनमा आएपछि प्रवेश गर्ने भन्दै उनले भने,‘हामीलाई परीक्षण संख्या बढाउनु पर्ने दवाब देखियो ।’

press-doc