काठमाडौं: आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे संयुक्त बैठक आह्वान गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
नीति तथा कार्यक्रममा आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने अपेक्षा गरिएको छ । यस्तै, कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।
बैठक कक्षमा सामाजिक दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद छन् । आजको बैठकमा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।