धरान: लकडाउनको कारण झापामा अड्किएका पुर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् । उनलाई गृहमन्त्रालयको सहमतिमा झापा जिल्ला प्रशासनले दोस्रो पटक सवारी पास उपलब्ध गराएको हो ।
पास पाएपछि पत्नी कोमलसँगै पुर्वराजा ज्ञानेन्द्र आज राजधानी फर्कदैछन् । निजी भ्रमणको क्रममा चैत पहिलो साता नै शाह दम्पत्ति झापा आएका थिए । चैत ११ गतेदेखि लकडाउन शुरु भएपछि उनीहरु झापा नै बसिरहेका थिए । यसअघि, हिजो पनि झापा प्रशासनले शाहलाई सवारी पास उपलब्ध गराएको थियो । तर, उक्त पास गृहमन्त्रालयसँग पुर्वस्वीकृति नलिएको कारण खारेज गर्नुपरेको थियो ।
पास खारेज भएपछि पुनः प्रक्रिया पुरा गरेर झापा प्रशासनले शाहलाई सवारी पास हिजो बिहिबार साँझ नै उपलब्ध गराएको थियो । पुर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पासको निवेदन दिएपछि उपलब्ध गराएपनि मन्त्रालयको स्वीकृति नभएकोले पहिलो पटकको पास खारेज गरिएको प्रजिअ उदयबहादुर रानाले जानकारी दिए । मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने सवारी पास रद्द गरिसकेको थियो भने जिल्ला भित्रैको सवारी पास पनि खारेज गर्ने निर्णय गरेको छ ।