काठमाण्डौं: काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित थपिदै गएपछि उपत्यकाका तीन जिल्लामा लकडाउन अझ कडा गरिने भएको छ ।

उपत्यकामा रहेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयहरु कम्तीमा १५ दिन बन्द गर्न गृहमन्त्रालयमा सुझाव दिएका छन् । सरकारी कार्यालयसँगै ढुवानीलगायतमा जारी भएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने प्रजिअहरुको सुझाव छ । उपत्यकामा पनि कोरोना संक्रमित देखिन थालेपछि हिजो काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको थियो । सोही बैठकले गृहमन्त्रालयलाई यस्तो सुझाव दिएको हो ।

उनीहरुको सुझाव गृहमार्फत उच्च उच्चस्तरीय समन्वय समितिमा पुगेको छ । भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले संक्रमणको जोखिम बढेकोले लकडाउनलाई कडाइ गर्नुपर्ने निष्कर्ष निकालिएको बताइन् । मानिसहरुको आउजाउ बढेकोले जोखिम झनै बढेको छ, त्यसैले शुरुवाती समयमा जस्तै पुर्ण नियन्त्रणको विकल्प छैन,’उनले भनिन् । गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भएको बैठकमा प्रजिअहरुले राहत वितरणको नाममा पास लिने र राजनीतिक कृयाकलाप गर्ने कामलाई पनि नियन्त्रण गर्न सुझाव दिएका थिए ।