धरान: लकडाउनको समयमा पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मेजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई एन ९५ मास्क प्रदान गरिएको छ ।

शुक्रबार प्रतिष्ठानको इर्मजेन्सी भवन परिसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मास्क चिकित्सकलाई हस्तान्तरण गरेका थिए । ती मास्क तरुण दलका सुनसरी जिल्ला कार्यवाहक सभापति सन्तोष बिक र क्षेत्रीय उपसभापति रवि राईको पहलमा युकेबाट आर्थिक सहयोग आएपछि वितरण गरिएको हो । युकेबाट रोबर्ट बिक र बर्षा रसाइलीले ३० हजार र भाष्कर राईले १५ हजार सहयोग गरेको तरुण दलका कार्यवाहक सभापति बिकले जानकारी दिए । बाँकी रकम उनी आफै र क्षेत्रीय उपसभापति राईले पनि मास्क खरीदमा लगाएका छन् ।

kn-mask

कुल १२५ थान मास्क विरतण गरिएको हो । ती मध्ये आधा दर्जन सञ्चारकर्मीलाई पनि मास्क दिइएको थियो । मेयर राईले मन्तव्य व्यक्त गर्दै कोरोनासँग फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरे । उनले भने,‘जसले जुन ठाउँबाट जे गर्न सकिन्छ गर्नुपर्छ भन्ने आग्रह गर्न चाहन्छु ।’ मेयर राईले वीपी प्रतिष्ठानको चिकित्सकहरुको मनोवल उच्च राख्न उपमहानगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताए ।

प्रतिष्ठानका एसोसिएट प्रोफेसर परमेन्द्र प्रसाद गुप्ताले विरामीको उपचार गर्नको लागि मास्क अत्यावश्यक भएको बताए । उनले स्वास्थ्यकर्मीलाई अत्यन्तै उपयोगी मास्क सहयोग भएकोमा आभार पनि व्यक्त गरे । इर्मजेन्सी विभागमा कार्यरत जुनियर रेसिडेन्टले पनि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि स्वास्थ्यकर्मीहरुको हौसला बढाउने काम हुने अपेक्षा राखे । वीपीको इर्मजेन्सी विभाग र उपमहानगरपालिका मिलेर समुदायमा आधारित स्क्रिनिङ गरेको स्मरण गर्दै भविष्यमा पनि सहकार्य गरिने बताए ।