धरान: भक्तपुरकी कोरोना संक्रमित युवतीको सम्पर्कमा रहेका सुनसरीको रामधुनी ४ का १८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको भने शंकास्पद देखिएकोले पुनः परीक्षण हुदैछ ।

रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले १९ जनामध्ये १ जनाको रिपोर्ट शंकास्पद भएकोले पुनः परीक्षण भइरहेको जानकारी दिए । ‘१८ जनाको रिपोर्ट नेगेटिभ आएको छ,’मेयर चौधरीले भने । चार दिन अघि मंगलबार भक्तपुरमा एक अस्पतालकी नर्सलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सुनसरीको रामधुनी ४ सिन्धुली टोलस्थित फुपुको घर आएको बेला लकडाउनले गर्दा यतै अड्किएकी थिइन् । अस्पतालले काममा आउन ताकेता गरेपछि उनी सुनसरी प्रशासनबाट पास लिएर मोटरसाइकलमा भक्तपुर पुगेकी थिइन् । काम शुरु गर्नुअघि उनको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

ती युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि रामधुनीमा उनको क्लोज कन्ट्याक्टमा रहेका सबैको परीक्षण गरिएको थियो । उनको फुपुको परिवारको ४ जना, उनलाई मोटरसाइकलमा पुर्याउन गएका व्यक्ति, फुपुको घरमा आउजाउ गर्ने, फुपुको छोरी ज्वाईको परिवारलगायत १९ जनाको स्वाब लिइएको थियो भने सबैलाई होम क्वारेन्टाइनमा राखिएको थियो । यस्तै, गाउँमा सबैलाई घरबाट बाहिर ननिस्कन जनप्रतिनिधिहरुले आग्रह गरेका थिए।

थप २ जनाको स्वाब लिइयो

रामधुनीबाट थप २ जनाको स्वाब संकलन गरिएको छ । उनीहरुको स्वाब परीक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले जानकारी दिए । उनीहरुको रिपोर्ट भोली आइतबारसम्म आउने उनले बताए ।