सुनसरीः पश्चिम कुसाहास्थित सशस्त्र प्रहरी बलको यूनिटमा कार्यरत सबै जवानहरुको कोरोना परिक्षणका लागि अहिले स्वास्थ्यकर्मीको टोली पुगेको छ ।
विरामी सहकर्मीलाई अस्पताल लिएर पुगेका मोरङको पथरी निवासी सशस्त्रका हवल्दारमा कोरोना पोजेटिभ भेटिएपछि एउटै पोस्टमा कार्यरत सबै सहकर्मीको स्वाव परिक्षणका लागि स्वास्थ्यकर्मी बोलाइएको सशस्त्र प्रहरी बल ४ नम्बर हेडक्वाटर गढका इन्चार्ज एसपी कृष्ण ढकालले जानकारी दिएका छन् । उक्त पोस्टमा १६ जना कार्यरत थिए ।
संक्रमित व्यक्ति बेलाबेला घर आउजाउ गरिरहन्थे भने प्रकाशपुरमा रहेको ससुरालीमा समेत बाक्लै आउजाउ गर्थे । कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको सीमा छेउ रहेको कोशी टप्पुु बन्यजन्तु आरक्षको हावा महल छेउ रहेको पोस्टमा खटिएका सशस्त्रको मुख्य जिम्मेवारी बन्यजन्तुु धपाउनु र सिमाको निगरानी बढाउनु थियो । उक्त स्थानमा बाक्लै घरपालुवा जनावर चराउने भारतीय नागरिकसमेत आउने हुँदा उनिहरुबाटै कोरोना सँक्रमण भएको हो कि भन्ने आशंका सशस्त्रले गरेको छ ।
यता, बराहक्षेत्र ११ का वडाअध्यक्ष केदार विष्टले भने शसस्त्रका अधिकारीहरुसँग सँगै राहत वितरणमा हिँडेका आफुुसहितको कोरोना परिक्षण गरिदिन माग गरेका छन् । ‘सशस्त्रका जवानहरुको मुुख्य बजार मधुवन क्षेत्र हो । त्यहाँ बाक्लै आउजाउ हुन्थ्यो । हामीसँग समेत राहत वितरण र अन्य कामको सिलसिलामा भेटघाट भइरहन्थ्यो,’विष्टले भने,‘उनिहरुको सम्पर्कमा आएका वडावासीकोसमेत कोरोना परिक्षणका लागि सरकारसँग माग गर्छु ।’