धरान: धनकुटा जिल्ला अस्पतालका थप स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण भएको रिपोर्ट आएलगत्तै आज मंगलबार राती धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्ड फेरि सिल गरिएको छ ।
प्रतिष्ठानको गाइनो वार्डमा उपचाररहत एक महिलाको कन्ट्याक्ट धनकुटाका संक्रमित स्वास्थ्यकर्मीमध्ये एक जनासँग देखिएपछि पुनः गाइनो वार्ड सिल गरिएको विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार ती गर्भवती महिला ५ दिनदेखि प्रतिष्ठानको गाइनो वार्डमा उपचाररत थिइन् । उनको शल्यक्रियामार्फत डेलिभरी गर्नुपर्नेछ । संक्रमित स्वास्थ्यकर्मीसँग धनकुटा अस्पतालमा स्वास्थ्य परीक्षणको क्रममा सम्पर्क देखिएको जानकारी आएपछि उनलाई आइसोलेसनमा सारेर गाइनो वार्ड पुनः सिल गरिएको डा.रेग्मीले बताए ।
एक दिनको अन्तरालमा प्रतिष्ठानको गाइनो वार्ड यो दोस्रो पटक सिल गरिएको हो । यसअघि धनकुटाकी पहिलो संक्रमित नर्सले एक सुत्केरी महिलालाई रिफर गरेको खुलेपछि हिजो पनि सिल गरिएको थियो । उनको स्वाब परीक्षणको नमुना राती नेगेटिभ आएपछि गाइनो वार्ड मंगलबार बिहानदेखि सुचारु भएको थियो । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ, उहाँ र अरुको सुरक्षाको लागि आइसोलेसनमा सारेर सिल गरिएको हो,’डा.रेग्मीले भने,‘बुधबार बिहानै स्वाब लिएर रिपोर्ट नआएसम्म फेरि भर्ना लिदैनौं र डिस्चार्ज पनि गर्दैनौं ।’