विराटनगरः उदयपुर पछि झापा र धनकुटामा कोभिड–१९ संक्रमित व्यक्तिको सँख्या बढिरहेको बेला प्रदेश एक सरकारले परिक्षणको दायरा फराकिलो बनाउने भएको छ । यस अघि पिसिआर माध्यमबाट परिक्षण गर्ने भिटिएमको अभाव रहेपनि अब भने कुनै कुराको अभाव नहुुने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् ।
सीमाबाट आउने नागरिकको कारण उच्च जोखिम रहेको बेला प्रदेश एकमा रहेका ३ ल्यावलाई विस्तार गर्ने प्रदेश एक सरकारको तयारी छ । अहिले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र प्रादेशिक प्रयोगशालामा गरि तीन ल्याबको क्षमता ३ सय नमुना परिक्षण गर्न सक्ने रहेको छ । ‘प्रयोगशालाको क्षमता बढाएर परिक्षणलाई तीव्रता दिनुको विकल्प छैन ।’ राईले भने ‘चाँडै दुुइ ल्यावबाट बढिभन्दा बढि नमुना परिक्षण गर्नसक्ने व्यवस्था हुँदैछ ।’
सीमा अनुुगमनलाई अस्थाई प्रहरी पोस्ट समेत बढाएर प्रदेश एकको भारतसँग जोडिएको कुल ३ सय ४४ किलोमिटर क्षेत्रफलमा प्रहरी तैनाथी अवस्थामा राखिएको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीको सँख्या बढाइएको र लुकिछिपि भारतबाट आउने नागरिकको निगरानीलाई कडा पारिएका प्रदेश सरकारको भनाई छ ।
मुुख्यमन्त्री राईले लकडाउनको विकल्प नभएको भन्दै यसलाई पालना गर्न नागरिकलाई आग्रह गरेका छन् । सामान्य हेलचेक्राईले निम्त्याउने जोखिम ठुलो हुने भन्दै सबैले सरकारले आग्रह गरेअनुसार घरमै सुरक्षित रुपमा बस्न र अनावश्यक रुपमा नहिंड्न अपिल गरेका छन् ।
हालसम्म प्रदेश एकमा संक्रमण पुष्टि भएका ८४ व्यक्ति मध्ये २६ जना उपचारपछि घर फर्किएका छन् । प्रदेश एकमा १० हजार व्यक्तिको आरडिटि टेस्ट भएको छ भने चारहजार भन्दा बढिको पिसिआर पद्धतीअनुसार परिक्षण भइरहेको छ ।