धरान: इटहरी २ का कोरोना संक्रमित १८ बर्षीय युवाको सम्पर्कमा रहेका धरानका व्यक्तिहरुको पिसिआर परीक्षणको लागि स्वाबको नमुना संकलन भइरहेको छ ।
अहिले वडा नं १७ स्थित रेल्वेमा क्लोज कन्टयकमा रहेकाहरुलाई स्वाबको नमुना संकलन भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मलामी जाने क्रममा ती संक्रमित व्यक्तिसँग नजिक एवं प्रत्यक्ष सम्पर्क रहेकाहरुको ट्रेस गरेर नामावली तयार भएको छ । ती मध्ये ३५ जना क्लोज कन्ट्याकमा रहेकाहरुको पिसिआर परीक्षण गर्न आज स्वाबको नमुना लिइरहेको हो । अन्य १५ जनाको भने आरडिटी मार्फत परीक्षण गरिनेछ । ‘एकदमै क्लोज कन्ट्याकमा रहेका ३५ जनाको पिसिआर टेष्ट गर्न स्वाब लिदैछौं,’उनले भने ।
इटहरीका संक्रमित युवा धरान ११ मा आत्महत्या गरेका एक युवाको मलामी आएका थिए । उनीहरु धरानको एक कलेजमा सँगै पढ्ने साथी भएकोले ती युवा इटहरीबाट मलामी आएका थिए । त्यसक्रममा उनी कलेजका साथीहरुसँग प्रत्यक्ष भेटघाट गरेका थिए भने जंगलमा खाल्डो खन्न पनि सहयोग गरेका थिए । उनको कन्ट्याक्ट ट्रेसिङको क्रममा १७० को हाराहारीमा नाम संकलन भएको थियो । अन्यको भने थर्मल गनद्धारा ज्वारो नापिएको थियो । संक्रमितको क्लोज कन्ट्याकमा रहेकाहरु वडा नं ११ र १७ का छन् भने केही २० वडाको पनि भएको वडा १७ का अध्यक्ष मनोज भट्टराईले बताए ।
वडा १३ मा पनि पिसिआर परीक्षण गरिने
धरानमा पनि संक्रमित भेटिएको वडा नं १३ स्थित शिवधारा क्षेत्रमा पनि पिसिआर जाँच गर्न स्वाब संकलन गरिने भएको छ । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार संक्रमित महिलाको क्लोज कन्ट्याकमा आएका १५ जनाको पनि पिसिआर परीक्षण गरिनेछ । यसअघि शिवधारा क्षेत्रमा १४ जनाको आरडिटी परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । ‘धरान १३ मा आज नभ्याए भोली स्वाब लिन्छौं,’मेहताले भने ।