धरान: कोरोना भाइरस(कोभिड-१९) संक्रमण भएका इटहरी र धरानका दुई व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका धरान सबैको कन्ट्याक ट्रेसिङ गर्नुका साथै परीक्षणको लागि स्वाबको नमुना पनि संकलन गरिएको छ ।
इटहरी २ का संक्रमित युवा र धरान १३ की महिलाको नजिकमा सम्पर्कमा रहेका सबैको पहिचान गरेर कोरोना परीक्षणको लागि स्वाबको नमुना संकलन गरिएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार र मंगलबार(हिजो) गरेर दुवै संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको स्वाबको नमुना लिइएको छ । उक्त नमुनालाई पिसिआर जाँचको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको पनि मेहताले जानकारी दिए ।
मेहताका अनुसार इटहरीका संक्रमित युवाको सम्पर्कमा आएका वडा ११ र १७ का ३५ जनाको पिसिआर जाँचको लागि सोमबार स्वाबको नमुना संकलन गरिएको थियो भने हिजो धरान १३ की संक्रमित महिलाको नजिकको सम्पर्कमा रहेका १५ जनाको पनि स्वाब संकलन गरिएको छ । ‘कोरोना संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेका सबैको पिसिआर जाँचको लागि स्वाब लिएका छौं, र जाँचको लागि वीपीको ल्याबमा पठाइसकेका छौं,’मेहताले भने । उनका अनुसार वडा ११ र १७ मा क्लोज कन्ट्याकमा रहेका बाहेक ३१ जनाको आरडिटी परीक्षण पनि गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
इटहरी २ का कोरोना संक्रमित युवा कोरोना संक्रमित भएको पुष्टि हुनुअघि धरान ११ मा आत्महत्या गरेको आफ्नो कलेजको साथीको मलामी आएका थिए । पछि उनको कोरोना संक्रमण पुष्टि भएपछि मलामी गएका र उनको क्लोज कन्ट्याकमा रहेका वडा ११ र १७ का मानिसहरुको कन्ट्याक ट्रेसिङ गरिएको थियो । डेढ सय भन्दा बढी मानिसहरुको नामावली संकलन गर्नुका साथै सबैको थर्मल गनले ज्वरो नापिएको थियो भने उनको क्लोज कन्ट्याकमा रहेका ३५ जनाको स्वाब लिइएको हो ।
यस्तै, धरान १३ की एक महिलाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेका १५ जनाको पहिचान गरेर पिसिआर जाँचको लागि स्वाब लिइएको हो । यसअघि १४ जनाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । इटहरीका संक्रमित युवा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा छन् भने धरान १३ की महिला वीपी प्रतिष्ठानस्थित आइसोलेसनमा छिन् ।
वडा १३ का सबै वस्तीलाई सेनिटाइज गरिदै
कोरोना संक्रमित भेटिएको धरानको वडा नं १३ का सबै टोल, वस्तीलाई सेनिटाइज गर्ने काम भइरहेको छ । वडा अध्यक्ष नेत्र काफ्लेका अनुसार अबको २ दिनभित्र सबै टोल वस्तीलाई सेनिटाइज गर्ने काम सकिनेछ । ‘हाम्रो वडामा संक्रमण भेटिएको कारण वडाबासीलाई ढुक्क बनाउनको लागि पनि वडाको सबैतिर सेनिटाइज गर्ने काम भइरहेकोछ, सबै टोल, वस्तीलाई सेनिटाइज गर्दैछौं,’उनले भने ।