धरान: प्रदेश नम्बर १ मा आज बजेट अधिवेशन शुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठक शुरु भएको छ ।

जिल्ला समन्वय समिति मोरङको हलमा जारी बैठकले बजेट अधिवेशनको कार्यसुचि, बजेटको उद्देश्य, प्राथमिकता र सिद्धान्तसँगै विविध बिषयमा छलफल गर्ने बताइएको छ । बैठकले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटको बिषयमा पनि छलफल गर्ने नेकपाका एक नेताले बताए । ‘कोरोनाको कारण उत्पन्न समस्या र यसको सन्दर्भमा सरकारले गरेको काम कारबाहीको बिषयमा मुख्यमन्त्री तथा संसदीय दलका नेताबाट बैठकमा जानकारी दिइनेछ,’एक नेताले भने ।

यस्तै, कोरोना समस्याको बीचमा शुरु हुने बजेट अधिवेशनमा अत्यावश्यक के कस्ता कानुनहरु ल्याउन सकिन्छ भनेर पनि बैठकमा छलफल हुने ती नेताले बताए । प्रदेश १ को संसदमा कुल ९३ सांसद छन् । ती मध्ये नेकपाको मात्र ६७ जना सांसद छन् । तर, सभामुख र उपसभामुख दुवै नेकपाबाट भएकोले सांसदको संख्या ६५ जना छन् । बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राई, मन्त्रीहरु, नेकपाको प्रदेश १ का इञ्चार्ज भीम आचार्यको पनि उपस्थिति रहेको छ ।

nekapako