विराटनगर: प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि आयुवेदिक पद्दतीबाट पनि उपचार गर्ने भएको छ ।

यसको लागि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा रहेको १ सय ५० वेडको आईसोलेसनमा तयारी पनि थालिएको सरकारले जनाएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार १ सय ५० वेडको आईसोलेसन उपचार केन्द्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी बराहक्षेत्रमा छलफल गरेका छन् । चतरास्थित सिचाईको जग्गामा विवादित कृष्णदासले निर्माण गरेको आश्रमलाई आइसोलेसन बनाइएको छ ।

मन्त्री घिमिरेसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, तीनवटै सुरक्षा निकायका प्रमुख र कृष्णदास आश्रम व्यवस्थापन समितिका पदाधिकारी लगायतबीच आज छलफल भएको हो । मन्त्री घिमिरेले बराहक्षेत्रमा आयुर्वेदिक पद्दतिबाट उपचार गर्ने छलफलले निष्कर्ष निकालेको बताए ।

वराहक्षेत्रमा गरिने उपचारका लागि सामाजिक विकास मन्त्रालयबाट विज्ञ सहितको आयुर्वेदको टिम खटिने मन्त्री घिमिरेले बताए । बराहक्षेत्रमा भोलीदेखि आईसोलेसन उपचार केन्द्र निर्माणको काम शुरु हुने पनि मन्त्री घिमिरेले बताए । प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पुर्वी पृतना इटहरीमा गरि ४ सय ५० वेडको आईसोलेसन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र कोरोना रिपोर्ट पोजेटिभ आएका तर सामान्य प्रकृतिकालाई आईसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ ।