धरान: नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
करिब १० दिनअघि भारतको गुजरातबाट आएकार दैलेखको दुल्लु नगरपालिकाका एक युवाको संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज बिहान मृत्यु भएका ३५ बर्षीय ती युवाको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पुष्टि गरे । मन्त्री रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट परीक्षण गर्दा मृतकको रिपोर्ट पोजेटिभ आएको हो । ‘रिपोर्ट पोजेटिभ आएपछि उनीसँगै भारतबाट आएका र क्वारेन्टिन रहेकाहरुको पनि विवरण संकलनको काम हुदैछ,’मन्त्री रावलले भने ।
मृतक युवा जेठ ९ गते रुपैडिया नाका हुदै नेपाल प्रवेश गरको थिए । उनी जेठ १० गते बसबाट दैलेख पुगेका थिए । उनलाई दुल्लु ७ स्थित विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिइनमा राखिएको थियो । शनिबार बिहान चिया खाजा खाएपछि उनी एक्कासी ढलेको बताइएको छ । उनको स्वाब भने पहिला नै संकलन गरिएको थियो । रिपोर्ट आउन ढिलाई भएकोले अस्पताल नलगिएको बताइएको छ । मृतकका श्रीमती, एक छोरा र एक छोरी छन् ।