धरान: शुक्रबार झापाका २७ जना संक्रमितहरुलाई ल्याउनेबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिउँसो अढाई बजे नै जानकारी भएको खुलेको छ ।
झापामा थप २७ जना संक्रमित पुष्टि भएपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रतिष्ठानलाई ती संक्रमित ल्याउदैछन् भन्ने जानकारी गराएको थियो । मन्त्रालयले संक्रमित आउदैछन् भन्ने जानकारी गराउदा शुक्रबार दिउँसो अढाई मात्र बजेको थियो । सोही बिषयमा आज दिउँसो सुनसरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) राजेश पौडेलसहितको बैठक प्रतिष्ठानमा भएको थियो । उक्त बैठकमा प्रजिअ पौडेलले प्रतिष्ठानका पदाधिकारी, जिम्मेवार विभागीय प्रमुखहरुलाई दिउँसो अढाई बजे नै जानकारी पाएपछि किन तयारी नगरेको भनेर प्रश्न गरेका थिए । प्रतिष्ठानका सम्बन्धित व्यक्तिहरु नाजवाफ बने ।
प्रजिअ पौडेलका अनुसार मन्त्रालयबाट अढाई बजे तिर नै झापाका संक्रमित ल्याउदै गरेको जानकारी प्रतिष्ठानलाई भएको थियो । त्यसपछि, बेड अभाव भए व्यवस्था एवं तयारी गर्ने पर्याप्त समय थियो । तर, प्रतिष्ठानले तयारी गर्न ध्यान नदिदा संक्रमितहरु रातभर बाहिरै बस्नु परेको प्रजिअ पौडेलले बताए । तर, आज बिहान समाचार सार्वजनिक भएपछि भने २ घण्टामा नै बेड तयार गरिएकोमा प्रजिअ पौडेलले बैठकमा पनि कडा रोष प्रकट गरेका थिए । ‘हिजो पर्याप्त समय थियो, तर तयारी गर्न ध्यान दिइएन । तर आज बिहान ६ देखि ८ बजेभित्र सबै तयारी भयो । हिजो त्यत्रो समय हुँदा किन भएन ? र आज २ घण्टामै कसरी भयो ? भनेर सोधे,’प्रजिअ पौडेलले क्लिक धरानसँग भने,‘वीपीले कमजोरी भएको स्वीकार गर्यो, र आइन्दा नदोहोरिने पनि प्रतिवद्धता जनाएको छ । हिजोको घटना चरम लापरवाही हो । मैले पनि पुनरावृत्ति नहोस् भन्ने निर्देशन दिएको छुँ ।’
प्रजिअ पौडेलका अनुसार हिजो १७ बेड खाली भएर पनि झापाबाट ल्याइएको कसैलाई पनि अस्पतालमा राखिएन । खाली बेडमा १७ जनालाई राख्दा पनि उनीहरुले केही राहत पाउने प्रजिअ पौडेलले बताए । ‘२७ जनालाई नै बाहिरै रातभरि राख्नु ज्यादै अमानवीय र लापरवाहीपुर्ण कार्य भयो,’उनले भने । बैठकमा प्रतिष्ठानको र्यापिड रेस्पोन्स टिमका सदस्यहरुसँगै धरानका मेयर, उपमेयर र इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्की पनि थिए ।
हिजो झापाबाट ल्याइएका २७ संक्रमितहरुलाई समन्वय नभएको र राख्ने बेड अभाव भएको भन्दै रातभरि आइसोलेसन वार्ड बाहिरै राखिएको थियो । उनीहरुले खुला ठाउँमा नै दिसा र पिसाब गरेका थिए । यो घटनाबारे थाह पाएपछि आज शनिबार बिहानै सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान आएपछि मात्र उनीहरुलाई अस्पताल भित्र लगिएको थियो ।