धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेकी धरान १३ शिवधाराकी कोरोना संक्रमित महिलाको पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानको आइसोलेसन वार्डमा नै रहेकी ती महिलाको पहिलो पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीपी प्रतिष्ठानको प्रोटोकल अनुसार दुई पटक जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि मात्र संक्रमितलाई डिस्चार्ज दिइन्छ । सोही अनुसार उनको दोस्रो पटक पिसिआर जाँच गर्नको लागि स्वाबको नमुना संकलन पनि भइसकेको छ ।

वडा नं १३ का बासिन्दाहरुले रिपोर्ट नेगेटिभ आएकोमा खुशी व्यक्त गरेका छन् । वडा १३ निवासी गोपाल श्रेष्ठले पिसिआर रिपोर्ट नेगेटिभ आएकोमा खुशी व्यक्त गर्दै चाडै डिस्चार्ज हुने आशा व्यक्त गरे । रिपोर्ट नेगेटिभ आयो भन्ने खबर परिवारबाट पायौं, खुशीको कुरा हो । उहाँ चाडै डिस्चार्ज होस भन्ने हाम्रो कामना छ, उनले भने । यता, प्रतिष्ठानले भने प्रोटोकल अनुसार अस्पतालमा राखिएको सातौं दिनमा एक पटक पिसिआर जाँच गरिने र रिपोर्ट नेगेटिभ आएमा पुनः जाँच गरेर आएको रिपोर्टको आधारमा मात्र डिस्चार्ज दिने वा नदिनेबारे निर्णय हुने बताए । उहाँको स्वाब लिइसकेको छ, यसको रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्चार्जको निर्णय हुन्छ, प्रतिष्ठान स्रोतले भन्यो ।