विराटनगर: प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्ताण्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को-अर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गरेका हुन् । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् ।
त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइ आर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ । यी उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए ।
साथै, मुख्यमन्त्री राईले प्रदेशलाई चाँडै ग्रीन जोनमा लग्ने सरकारको तयारीलाइ तिब्बत सरकारले दिएको स्वास्थय सामाग्रीले थप सहायोग मिल्ने विश्वास व्यक्त गरे । ‘हामी प्रदेशका धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्त भएका सामाग्रीहरुले थप सहयोग पुग्छ,’उनले भने । मुख्यमन्त्री राईले सामाग्री उपलब्ध गराएकोमा तिब्बत सरकारलाई धन्यवाद समेत दिए ।
नेपाल चीन कार्यकारी परिषद प्रदेश एकका संयोजक मुकेश उपाध्यायले भने स्वास्थ्य सामाग्रीको सहि सदुुपयोग भएका प्रदेश एकलाई थप सहयोग मिल्ने जानकारी दिए । प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तिब्र बनाएको छ । प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ । प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड-१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किएका छन् ।