धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा सुचारु भएपनि सिमित कोटा तोकिएको छ ।
कोटा सिमित तोकिएको कारण ओपिडीको लागि प्रतिष्ठानको मेन गेटमा टोकन पाउन विरामी तथा तिनका आफन्तहरुको भीड लाग्ने गरेको छ । मेन गेटमा प्रतिष्ठानले व्यवस्थित गर्ने प्रयास गरेको छ । तर, विभिन्न विभागको ओपिडीको कोटा सिमित भएको कारण टोकनको लागि भिड हुने गरेको छ । प्रतिष्ठानको मेडिकल रेकर्ड शाखाका अनुसार विभिन्न विभागबाट दैनिकरुपमा छुट्याएको कुल कोटा ४७५ हाराहारीमा पुग्छ । सबैभन्दा बढी मेडिसिन, गाइनो, अर्थ र सर्जरी विभागमा विरामीहरु आउने गरेका छन् । यी विभागमा कोटाभन्दा बढी विरामीहरु आउने भएकोले टोकन लिन मेनगेटमा भिड भएको हो ।
मेन गेटमा खटिएका एक सुरक्षाकर्मीका अनुसार अधिकांश धरानभित्रैका विरामी छन् भने धरान बाहिरबाट पनि विरामीहरु आइरहेका छन् । ‘सिरहा, सप्तरी तिरबाट पनि विरामीहरु एम्बुलेन्समा आइरहेका छन्, यो चै जोखिमपुर्ण नै छ । प्रदेश २ को सबै जिल्लामा संक्रमण छ । त्यसैले धरान आउदा पिसिआर वा आरडिटी परीक्षणको रिपोर्ट अनिवार्य गर्ने व्यवस्था गर्नु ठिक हुन्छ,’ती सुरक्षाकर्मी भन्छन्,‘कोटा भन्दा धेरै भए पनि विरामीलाई निक्कै गाह्रो छ भने इर्मजेन्सीमा पठाइन्छ, नत्र भोलीपल्ट आउछन् ।’
यता, प्रतिष्ठानले भने मेन गेटदेखि नै ओपिडी जचाउन आएकाहरुलाई व्यवस्थित र सुरक्षित तरिकाले मात्र प्रवेश गराउने दाबी गरेको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेनगेटमा गार्डहरुले सेनिटाइज गर्ने, अस्पताल प्रवेश गर्दा सबैले अनिवार्य मास्क लगाउनुपर्ने र सबैको थर्मो स्क्यान गरेर मात्र भित्र प्रवेश गराउने गरिएको छ । ‘कसैलाई फिवर देखियो भने सिधै फिवर क्लिनिक पठाउने गरिन्छ । भित्र ओपिडीमा पनि एक एक जना गार्ड राखिएको छ, दुरी कायम गराइन्छ । कुर्सी पनि एउटा ग्याप गरेर राखिएको छ,’उनले भने ।