धरान: नेपाल मेडिकल कलेजमा स्वास्थ्यकर्मीहरुमाथि भौतिक आक्रमण भएको घटनाको विरोध गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासिय चिकित्सक(जेआर)हरु पनि आन्दोलित भएका छन् ।

काठमाण्डौंको जोरपाटीस्थित कलेजमा विरामीको मृत्यु भएपछि चिकित्सकहरुमाथि आक्रमण भएको थियो । उक्त घटनाको विरोधमा त्यहाँका चिकित्सकहरु आन्दोलनरत छन् । उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै प्रतिष्ठानका जेआरहरुले पनि आज सोमबार उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै आन्दोलनमा उत्रिएको घोषणा गरेका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बुझाएको ज्ञापन पत्रमा जेल विथाउट वेलको विगतको मागलाई पुनः जोडदाररुपमा उठाइएको छ ।

सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलले नेपाल मेडिकल कलेजमा भएको घटनाका दोषीहरुलाई पहिचान गरेर तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग गरे । देशभरका आवासिय चिकित्सकहरुले ४८ घण्टाको समय दिएपनि कुनै सुनुवाई नभएपछि भोली(जेठ २०) गतेदेखि सम्पुर्ण आवासिय चिकित्सक एवं मेडिकल अफिसरहरु विरोध स्वरुप कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिने पनि डा.पौडेलले बताए । ‘दोषी उपर कारबाही प्रक्रिया अघि नबढाइए एवं जेल विथाउट वेल को लागि आवश्यक पहलकदमी नभए हामी कडा आन्दोलन गर्न पनि बाध्य हुनेछौ,’स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पठाइएको ज्ञापन पत्रमा भनिएको छ ।

bp-jr-press