धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निको भएर धरान १३ की संक्रमित महिलासहित १८ जना घर फर्किएका छन् ।
दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट आज राती डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला छिन् भने अन्य सबै झापा जिल्लाका हुन् । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए ।
धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको थियो ।पिसिआर जाँच गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई प्रतिष्ठानमा राखिएको थियो । प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना संक्रमित व्यक्तिहरु मात्र रहेका छन् । ती सबै झापाका हुन् । निको भएर घर फर्किएकाहरुमध्ये कचनकवल गाउँपालिकाका अयुब मियाँले अस्पतालमा धेरै राम्रो व्यवस्था गरेको प्रतिक्रिया दिए । क्लिक धरानसँग मोवाइल सम्पर्कमा कुरा गर्दै उनले सरकार, वीपी प्रतिष्ठान, स्वास्थ्यकर्मीहरु सबैलाई धन्यवाद समेत थिए । उनले सरकारले आफुहरुलाई उपचारमा गरेको राम्रो व्यवस्था गरेको भन्दै भारु एक हजार सहयोग गर्न चाहेको पनि बताएका थिए ।
उनले विदाई कार्यक्रममा मेयर राईलाई सहयोग गर्न खोजेकासमेत थिए । तर, मेयर राईलगायतले झापमा गएर सिडिओलाई नै हस्तान्तरण गर्न आग्रह गरेका थिए । ‘मैले स्वास्थ्यमन्त्री चिनेको छैन, तर यहाँ राम्रो ख्याल गर्यो । अस्पतालले पनि राम्रो गर्यो, डाक्टर, नर्सले पनि राम्रो गर्यो । सबैलाई दिलदेखि नै धन्यवाद दिन्छुँ,’मोवाइल सम्पर्कमा मियाँले भने,‘म सरकारलाई एक हजार भारु सहयोग गर्न चाहन्छु । सबैले मिलेर एक एक हजार सहयोग गर्ने हो भने कति हुन्छ ?’