धरान: नेपालमा आज एकैदिन ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ती मध्ये एक जना सुनसरीका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ ३२३ जना संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार ती मध्ये एक जना सुनसरीका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर जाँचमा एक जना सुनसरीको रिपोर्ट पोजेटिभ आएको हो । ती व्यक्ति बराहक्षेत्र क्वारेन्टाइनमा रहेका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या पनि ४ हजार नाघेको छ । हालसम्म संक्रमितको कुल संख्या ४०८५ पुगेको छ । ती मध्ये ३७९८ पुरुष र २८७ जना महिला छन् । यसैगरि, भारतपुरको चितवनमा एक संक्रमितको मृत्यु भएको पनि डा.गौतमले जानकारी दिए ।
मृतक व्यक्ति भरतपुर ११ का हुन् । उनलाई ज्वरो, निमोनिया, सुगर र प्रेसरको पनि समस्या थियो । भारतपुर अस्पतालको प्रयोगशालमा हिजो उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आज बिहान मृत घोषणा गरिएको र संक्रमितको कुल संख्या १४ जना पुगेको पनि डा.गौतमले बताए ।