धरान: एन्फा एकेडेमी धरान १७ स्थित क्वारेन्टाइनमा रहेका एक सुरक्षाकर्मीसहित १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाब संकलन गरिएको ४ दिन पछि उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टिनको सुरक्षामा खटिएको नेपाली सेनाका क्याप्टेनसहित १६ जनाको स्वाब जेठ २४ गते संकलन गरिएको थियो । उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्न पठाइएको थियो । ‘वीपीबाट १६ जनाकै रिपोर्ट नेगेटिभ छ भनेर खबर आयो । अब सल्लाह गरेर घर पठाउछौं,’धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने ।
भारतबाट आएकाहरुलाई घरपरिवार वा समुदायमा सिधै घुलमिल हुन नदिनको लागि धरानको एन्फा एकेडेमीमा तयार गरेको क्वारेन्टिनमा राख्ने गरिएको छ । त्यहाँ पिसिआर परीक्षण गरेर मात्र घर पठाउने गरिन्छ । यसअघि ४१ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई वीपी प्रतिष्ठानमा पठाइएको छ भने उनीसँगै कोठमा रहेका अन्य ३ जनाको दोस्रो पटक पिसिआर जाँच गर्न स्वाब संकलन गरिएको थियो । ती ३ जनासँगै अन्य १२ जना नयाँ र सेनाका क्याप्टेनसमेतको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको हो ।