विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले तथ्यांकमा भएजस्तो प्रदेश १ का सबै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् ।
आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिए पनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताए । भारतबाट आएकाहरुमा संक्रमण देखिएको र उनीहरुको ठेगानाको कारण जिल्ला सक्रमणको सुचीमा परेको मन्त्री घिमिरेले बताए । उनले भने,‘प्रदेश १ मा देखिएको कोरोना संक्रमण भारतबाट आएकाहरुबाट भएको छ ।’
संक्रमितहरु प्रदेश १ का बासिन्दा भएपनि भारतबाट आएकाहरु अधिकांश भएको मन्त्री घिमिरेले बताए । ‘भारतबाट आएपनि घर पुग्न पाएका छैनन, घर भएको आधारमा जिल्लालाई संक्रमण फैलिएको बनाइयो,’उनले भने । प्रदेश १ मा समुदायस्तरमा कोरोना नफैलिएको पनि मन्त्री घिमिरेले दावी गर्दै पोजेटिभ देखिनासाथ अस्पताल पुर्याएको बताए । ‘समुदायमा संक्रमण हुन दिएका छैनौं, पोजेटिभ देखिनासाथ अस्पताल पु¥याएका छौं,’मन्त्री घिमिरेले भने ।
पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएको बताए । भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उनले बताए । भुल्केबाटै ‘थ्री टि’ टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको काम शुरु भएको मन्त्री घिमिरेको भनाई छ । ‘भुल्केको संक्रमणलाई पूर्णरुपमा नियन्त्रण गरिएको छ,’उनले भने ।
भुल्केमा पहिलेकै संक्रमण देखिने सम्भावना नभएको मन्त्री घिमिरेको भनाई छ । भुल्केसँगै धनकुटा जिल्ला अस्पताल र दमकको संक्रमण पनि नियन्त्रण भएको उनले बताए । भुल्केको अनुभवले आत्मबल बढाउने काम भएको मन्त्री घिमिरेले बताए । पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले भुल्के संक्रमणलाई नियन्त्रणमा ल्याउनका लागि गरिएका प्रयासहरुको प्रस्तुती गरेका थिए ।