धरान: प्रदेश नं १ मा हिजो बिहिबार छुट्टा छुट्टै जिल्लामा दुर्घटना र डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

भोजपुर, उदयपुर र सुनसरी जिल्लामा तीन बालिकाको ज्यान गएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको हो । हिजो अपरान्ह ५ बजे रामप्रसादराई गाउँपालिका ५ का भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

उक्त ट्याक्टरमा रहेकी बालिका पुष्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनीहरुलाई थप उपचारको लागी बिराटनगर पठाएको पनि उक्त कार्यालयले जनाएको छ । ट्याक्टर चालक भोजपुर आमचोक बस्ने ३५ बर्षीय मान बहादुर श्रेष्ठ नियन्त्रणमा रहेका छन् ।

यसैगरि, उदयपुरको उदयपुरगढी ६ का ९ बर्षीया बिबिषा पाण्डेको ट्याक्टर दुर्घटनाबाटै मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे उदयपुरगढी ७ बाघखोर स्थित को स १ त ५१०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त ट्याक्टरमा रहेकी बालिका बिबिषाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालक बिदुर पाण्डे नियन्त्रणमा रहेको र मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको उक्त कार्यालयले जनाएको छ ।

पोखरीमा डुबेर ५ बर्षीया नाबालिकाको मृत्यु

सुनसरी देवानगंज(७ रासी बस्ने जगरुप यादवको ५ बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो साझँ साढे ६ बजे घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले देखेका थिए ।

उनलाई तत्काल उद्दार गरेर अस्पतालतर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।