विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् ।
प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने उनले बताए । प्रदेश १ का नेकपाका जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आज विहान भएको अनलाईन संवादमा मन्त्री घिमिरेले कोरोना संक्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा संक्रमण नियन्त्रणमा आईसकेको पनि बताए । पछिल्लो समय क्वारेन्टाईनमा रहेकाहरुमा मात्र संक्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेको भनाई छ । उनले भने,‘अहिले ठुलो संख्यामा देखिएको संक्रमण क्वारेन्टाईन भित्रको मात्र हो ।’
क्वारेन्टाईनमा रहेकाहरु सबै भारतबाट आएकाहरु रहेको उनले बताए । समुदायस्तरमा कोरोना नफैलिएकाले चाँडै नियन्त्रणमा आउने मन्त्री घिमिरेको दावी छ । स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाईनहरु अव्यवस्थित भएको भन्दै उनले व्यवस्थित गरिदै लैजाने मन्त्री घिमिरेले बताए । पार्टी नेताहरुलाई कोरोना नियन्त्रणमा सक्रिय भएर लाग्न पनि उनले आग्रह गरे ।
अनलाईनमा संवादमा नेकपा नेताहरुले समुदायस्तरमा कोरोना नफैलिएको बताएका थिए । प्रदेश १ मा अहिले सम्म देखिएको संक्रमण क्वारेन्टाईनमा मात्रै रहेको नेताहरुको भनाई छ । झापा अध्यक्ष चिन्तन पाठकले झापामा देखिएको संक्रमण समुदाय स्तरमा नभएको बताए । झापामा ठुलो संख्यामा कोरोना संक्रमण देखिएपनि क्वारेन्टाईनमा मात्रै संक्रमण देखिएको बताए । राजनीति दलसहितको संयन्त्रले प्रभावकारी ढंगले काम भईरहेको उनले बताए ।
खोटाङ अध्यक्ष राम दंगालले कोरोना समुदायमा नफैलिएकाले क्वारेन्टाईनमा रहेकाहरुको परीक्षणमा तीव्रता दिन आग्रह गरे । पीसीआर टेष्टका लागि संकलन गरिएको नमूना क्युमा रहने गरेको उनले गुनासो गरे । रिपोर्ट ढिलो आउँदा समस्या हुने गरेको दंगालको भनाई छ । संखुवासभाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले पनि समुदाय स्तरमा संक्रमण नफैलिएको बताए । संखुवासभामा प्रभावकारी रुपमा काम भईरहेको घिमिरेको भनाई छ ।
सुनसरी अध्यक्ष योगेन्द्र मण्डलले क्वारेन्टाईनहरु अव्यवस्थित भएको बताए । उनले क्वारेन्टाईन कारागार जस्तो भएको पनि गुनासो गर्दै व्यवस्थित गर्न प्रदेश सरकारलाई आग्रह गरे । मोरंग सचिव गणेश उप्रेती शुशिलले क्वारेन्टाईनमा रहेकाहरुको परीक्षण गम्भीरढंगले बढाउनुपर्ने बताए । संक्रमण बढी देखिएका स्थानहरुमा प्रदेश सरकारले पीसीआर परीक्षण बढाउनुपर्ने उप्रेतीको भनाई छ ।
उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवालले कोरोना संक्रमण देखिएकाहरुलाई समाजमा हेर्ने दृष्टिकोण फरक भएको पाईएको बताए । कोरोनाबारेको भ्रम हटाउने खालको कार्यक्रम गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरे । ताप्लेजुङ अध्यक्ष विजय वनेमले जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव भएको बताए । पाँचथर अध्यक्ष राजकुमार भण्डारीले कोरोना परीक्षण बढाउनुपर्ने बताए । भोजपुर अध्यक्ष प्रेम राईले कोरोनापछि समस्या आउने देखिएकाले समस्या समाधान गर्नेगरिको बजेट र कार्यक्रम ल्याउन आग्रह गरे ।