धरान: लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेपछि देशभर खुशीयाली मनाउने क्रम जारी छ ।

संसदबाट विधेयक पास भएपछि साँझ धरानको भानुचोकमा युवाहरुले पनि दिप प्रज्वलन गरेर खुशीयाली मनाए । तर, खुशी मनाउदै गर्दा युवाहरुले सरकारलाई केही प्रश्न पनि गरेका छन् । उनीहरुले नक्सा आएकोमा सरकारलाई धन्यवाद दिदै अब जमिन पनि चाहिएको सन्देश सरकारलाई दिएका छन् । 'नक्सा आयो, अब भुमी चाहियो,'युवाहरुले बोकेको पम्प्लेटमा लेखिएको छ । यस्तै, एक युवाले बोकेको पम्प्लेटमा 'सिमानामा काँडेतार कहिले लाग्छ ?' भनेर पनि सरकारलाई प्रश्न गरेका छन् । युवाहरुले राष्ट्रिय गान पनि गाएका थिए ।

youth2

आज शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको थियो । बैठकमा उपस्थित २५८ सांसद सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएपछि दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए । सरकारले यसअघि जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

youth1