धरान: सरकारको निर्णय अनुसार भोलीदेखि देशभरका सरकारी कार्यालयहरु २ सिफ्टमा सञ्चालनमा आउने भएको छ ।

जेठ २८ गतेको मन्त्रीपरिषद निर्णय अनुसार असार १ गतेदेखि सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु सञ्चालनमा आउन लागेको हो । बैंक र बित्तिय संस्थाका कार्यालयहरु पनि भोलीदेखि सञ्चालनमा आउनेछ । सुनसरी जिल्ला प्रशासन कार्यालयले आज एक सुचना जारी गर्दै बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म २ सिफ्टमा कार्यालय सञ्चालनमा आउने जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एक सिफ्टमा कार्यालय सञ्चालन हुनेछ भने १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछ । सम्बन्धित कार्यालयहरुले कर्मचारीहरुलाई २ सिफ्टमा खटाएर सेवा प्रवाह गर्ने प्रीजअ पौडेलले जानकारी दिए । ‘लामो समयदेखि सार्वजनिक सेवा अवरुद्ध भएकोले सुचारु गर्दा एकै चोटी भीड बढ्ने र सामाजिक दुरी कायम नहुने भएर यस्तो निर्णय भएको हो,’प्रजिअ पौडेलले भने ।

भोलीदेखि सञ्चालनमा आउने सेवा प्रदायक कार्यालयहरुले २ मिटरको भौतिक दुरी, मास्कको प्रयोग, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोगलगायतका स्वास्थ्य र सुरक्षाको मापदण्ड अनिवार्यरुपले पालना हुने व्यवस्था गर्नुपर्ने पनि जिल्ला प्रशासनले सम्बन्धित कार्यालयहरुलाई अनुरोधसमेत गरेको छ ।