विराटनगर: प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज सोमबार ४ महिला र २२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा मोरंगमा २२ जना छन् भने सुनसरीमा ३ जना र झापामा १ जना छन् । सुनसरीको बराहक्षेत्रमा १ महिला र १ पुरुष संक्रमण पुष्टि भएको हो । यस्तै, सुनसरीकै बर्जुमा पनि १ जना पुरुष संक्रमित भएका हुन् ।

यसैगरि, झापाको मेची नगरमा १ पुरुष, मोरंगको केराबारीमा १ महिला, सुनवर्षीमा २ महिला र १९ जना पुरुषमा संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज २६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको छ । संक्रमित भएका मध्ये २६ महिला र ३ सय ७१ पुरुष रहेका छन् ।

यसैगरी, आज ८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरंग र २ जना संखुवासभाका रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ सय ७४ पुगेको छ ।