इटहरी: आज सुनसरीमा कोरोना संक्रमण पुष्टि भएका २ जना मध्ये एक इटहरी उपमहानगरपालिकाका व्यक्ति हुन् ।
उनलाई आजै थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इटरी उपमहानगरपालिकाले जानकारी दिएको छ । उपमहानगरपालिकाका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति ५० बर्षीय पुरुष हुन् । उनी भारत भ्रमण गरी आएकोले जेठ २६ गतेदेखि इटहरी ५ स्थित क्वारेन्टाइनमा रहेका थिए ।
उनलाई केही दिनअघिदेखि नै क्वारेन्टाइनको पनि अलग्गै कोठामा राखिएको उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमारी अम्बिका साह र स्वास्थ्य संयोजक रामचरण चौधरीले विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । ती संक्रमितलाई धरान पठाए पछि उनलाई क्वारेन्टाइनमा राखिएको कोठालाई पुर्णरुपमा डिस्इन्फेक्टेण्ड गरिएको पनि उनीहरुले बताएका छन् । योसँगै इटहरीमा हालसम्म संक्रमित संख्या २ पुगेको छ । यसअघि इटहरी २ का एक युवामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निको भइसकेका छन् ।